• १२ साउन २०८१, शनिबार

खाना पकाउने ग्यासको प्रयोग गर्ने पाँच गुणाले बढे

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ ६ गते ।  खाना पकाउने ग्यासका प्रयोगकर्ता ह्वात्तै वृद्धि भएका छन् । ग्यासको मूल्य घटेपछि यसका प्रयोग गर्ने उपभोक्ताको सङ्ख्यामा वृद्धि भएको हो । 

सिमकोट बजारकी सुरिकला रावतले खाना पकाउने ग्यास पहिलो पटक प्रयोग गरेको बताउनुभयो । उहाँले विद्युत् नियमित नहुने र दाउराभन्दा ग्यास प्रयोग गर्दा मूल्य सस्तो पर्ने भएपछि ग्यासको प्रयोग गर्न थालेको बताउनुभयो । उहाँले दाउरा किन्दा महिनामा १० हजारभन्दा बढी खर्च हुने गरेको तर ग्यास प्रयोग गर्दा महिनामा तीन हजार चार सय मात्र खर्च हुने भएपछि यसैको प्रयोग गर्न सुरु गरेको बताउनुभयो । उहाँले आफूसहित १० जना गृहिणीले पहिलो पटक ग्यासको प्रयोग गर्न थालेको बताउनुभयो । 

ग्यास व्यापारी खुमबहादुर रावतले गत वर्षभन्दा यस वर्ष ग्यासको प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या पाँच गुणाले वृद्धि भएको बताउनुभयो । केही समयअगाडिसम्म ग्यास उपभोक्ताको सङ्ख्या चार सय रहेकामा अहिले त्यो बढेर दुई हजार चार सय पुगेको रावतले बताउनुभयो । उहाँले पनि दाउराको प्रयोगभन्दा ग्यास सस्तो हुने भएका कारण यसको प्रयोगकर्ताको सङ्ख्या दैनिक बढिरहेको बताउनुभयो । उहाँले आइतबार यता आफ्नो डिपोबाट ३० जनाले ग्यासका नयाँ सिलिन्डर खरिद गरेर लगेको बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले जिल्लाको सर्केगाड गाउँपालिका–६ को ल्याप्चे राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै ग्यासको मूल्य घटेको बताउनुभयो । उहाँले नयाँ सिलिन्डर खरिद गर्ने उपभोक्ताले पाँच हजार दुई सयमा पाउन थालेको र ग्यास भरेको तीन हजार चार सय मूल्य पर्ने गरेको बताउनुभयो । 

उहाँले खाना पकाउने ग्यासको प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या वृद्धि हुनुमा मूल्य सस्तिएका कारण रहेको बताउनुभयो । उहाँले कर्णाली कोरिडोरको छारे खण्डको सडक सुचारु भए अझै ग्यासको मूल्य घट्ने बताउँदै यसबाट उपभोक्तालाई आर्थिक लाभ पुग्ने बताउनुभयो । कतिपय उपभोक्ताले सिधै सुर्खेत र नेपालगन्जबाट समेत झिकाउन थाल्नुभएको छ । सुरुमा भने ग्यास प्रतिसिलिन्डर १४ हजारमा खरिद गरेर प्रयोग भएको थियो ।