• ११ पुस २०८१, बिहिबार

कार दुर्घटना : घाइते दुई जनाको मृत्यु

blog

अनिल पराजुली
हेटौँडा, जेठ ५ गते ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकखण्डस्थित मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ ठिंगन नजिकै चौतारामा शनिबार बिहान भएको कार दुर्घटनामा गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ भने एकजनाको उपचार भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार गम्भीर घाइते हुनुभएका रौतहट मौलापुर नगरपालिका–६ बस्ने १७ वर्षीय विबेक साह र मकवानपुरको बकैया गाउँपालिका–१२ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो ।

उहाँहरुको उपचारको क्रममा हेटौँडा अस्पतालका डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । कार दुर्घटनामा साह र ब्लोनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका कार चालक बारा निजगढ नगरपालिका–६ बस्ने ३० वर्षीय सन्दीप साहको हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ भने उहाँको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार बिहान ७ बजेर ३० मिनेटको समयमा कार दुर्घटना भएको थियो । कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।