• १२ साउन २०८१, शनिबार

कोरियाबाट फर्केर माछापालनमा पुन

blog

एग्रो रिसोर्टसँगै माछापालन गर्दै लक्ष्मण पुन । तस्बिर : रासस

गलकोट (बागलुङ), जेठ ५ गते । बागलुङ नगरपालिका-४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी घर भई बागलुङ बजार बस्दै आउनुभएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आउनुभएको छ । 

उहाँले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गर्नुभएको हो । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उहाँले रिसोर्ट पनि खोल्नुभएको छ । “श्रमिकका रुपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ”, उहाँले भन्नुभयो, “कोभिड-१९ सुरु हुनुअघि एकै पटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो । त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।”

पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उहाँको भनाइ छ । ५० लाख लगानी गरेकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताउनुभयो । उहाँले छोरा अमृतलाईसमेत माछापालनमा लगाउनुभएको छ । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिनुभएको छ । “कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु”, उहाँले भन्नुभयो । 

चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उहाँको भनाइ छ । १४ रोपनी जग्गाको वार्षिक एक लाख ५० हजार भाडा तिर्नुपर्छ । उहाँले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाउनुभएको छ । पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उहाँले बताउनुभयो । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिनुभयो । तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२-१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा पाँच छ लाखमै सीमित हुने उहाँको भनाइ छ । रासस