• १२ साउन २०८१, शनिबार

निःशुल्क स्वास्थ्य बिमा गरेका छौँ

blog

दोस्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको दुई वर्ष बितिसकेको छ । यस अवधिमा स्थानीय तहमा सङ्ख्यात्मक र गुणात्मक परिवर्तन आएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा पनि भौतिक पूर्वाधार र सेवा प्रवाह व्यवस्थित बन्दै गएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई गोकर्णेश्वर नगरपालिकाको नेतृत्व गरिरहनुभएका नगर प्रमुख दीपककुमार रिसालसँग हालसम्म भएका काम र अबका योजनाका बारेमा गोरखापत्रका नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानी : 


नगरवासीको घर घरमा खानेपानी पु-याउने भनी बनाएको योजना कहाँ पुग्यो ?

हामीले स्थानीय तहको निर्वाचनका व्रmममा दुई वर्षअघि खानेपानी, स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर घोषणापत्र निर्माण गरेका थियौँ । त्यसमध्येमा खानेपानी वितरणका लागि अहिले नगरपालिकाले धमाधम काम गरिरहेको छ । सुन्दरीजल, नयाँपाटी र बालुवा नगरपालिकाको माथिल्लो भेगमा सुन्दरीजल र मेलम्चीको पानी नजाने भएकाले स्यालमतीको पानी वितरण गर्ने नीति अनुसार सो क्षेत्रमा खानेपानीको ट्याङ्की निर्माण गरेका छौँ । यस आर्थिक वर्षभित्र सकिँदा सो क्षेत्रमा अधिकांशको घरमा एक घर एक धारा पुगिसक्ने छ । चिलौने, ओख्रेनी र मूलखर्क क्षेत्रमा पानीको मुहान भएकाले उक्त क्षेत्रमा खानेपानीको वितरण भइसकेको छ । नगरपालिकाको तल्लो भागमा सुन्दरीजलको पानी धमाधम वितरण भइरहेको छ भने कतिपय स्थानमा पाइप विस्तार गरी पानी वितरण गरेका छौँं । वडा नं. १, २, ३ र ४ को माथिल्लो भागलाई स्यालमतीको पानी र सोही वडाको तल्लो भागलाई सुन्दरीजलको पानी वितरण गर्दै छौँ । अब हामी वडा नं. ५, ६, ७, ८ र ९ साबिक जोरपाटी क्षेत्रमा खानेपानी पु-याउने गरी उच्च प्राथमिकताका साथ काम गरिरहेका छौँ । 

नगरवासीलाई स्वस्थ राख्न नगरपालिकाले के के काम गरिरहेको छ ? 

स्वास्थ्य हरेक व्यक्तिको संवेदनशील विषय भएकाले रोग लाग्दा नागरिकको आर्थिक हैसियतले धान्न नै नसक्ने गरी खर्च हुने भएकाले नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गराउने नीति अनुसार नगरपालिकाले नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिकलाई पूर्ण रूपमा निःशुल्क स्वास्थ्य बिमा गराएको छ । स्वास्थ्य बिमा निःशुल्क भएपछि नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गरी अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवासहित ल्याब, एक्सेर, आँखा, मुटु रोगको परीक्षण, निःशुल्क, एम्बुलेन्स सेवा, रगत वितरणलगायत रोगका विशेषज्ञ डक्टरसहितको सेवासुविधा विस्तार गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ । अहिले दैनिक नगर अस्पतालमा पाँच सयदेखि छ सयसम्म बिरामीले सेवा लिने गरेका छन् । नगरपालिकाभित्र भएको नेपाल मेडिकल कलेजमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि ७० प्रतिशत छुट दिने गरी सम्झौता गरेका छौँ । ७० प्रतिशतमध्ये ४० प्रतिशत नेपाल मेडिकल कलेजले र ३० प्रतिशत नगरपालिकाले प्रदान गर्छ । नगरपालिकाभित्र रहेका तीनवटै अस्पतालबाट नगरपालिकाका स्थायी नागरिकलाई नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक्स अस्पताल र शङ्खरापुर अस्पतालले ५० प्रतिशत छुट दिने गरी सम्झौता गरिएको छ । नगरपालिकाको आफ्नै अत्याधुनिक नगर अस्पतालको भवन निर्माणाधीन अवस्थामा छ । दृढ सङ्कल्पका साथ आफू निरन्तर स्वास्थ्य क्षेत्रमा सुधार गर्ने कार्यमा लागेकाले छोटो समयमा धेरै सफलता हासिल गर्न सकिएको हो । 

नगरवासीले दीर्घकालीन रूपमा स्मरण गरिरहने गरी नगरपालिकाको मेगा प्रोजेक्ट के के छन् ? 

हरेक क्षेत्रमा एक/एक वटा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्ने गरी नमुना काम गर्ने लक्ष्य अनुसार स्वास्थ्य र खानेपानीपछि शिक्षा क्षेत्रमा प्राविधिक शिक्षालाई जोड दिएका छौँ ।  नगरपालिकाले छ वर्षअगाडि नै स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरेको र अहिले हरेक शुक्रबार विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएका नगरपालिकाभित्रकै भौतिक संरचनामा विद्यार्थीलाई स्थलगत रूपमा अवलोकन गराउने काम गरेका छौँ । नगरपालिकाको प्राविधिक शिक्षा भएको सामुदायिक विद्यालयमा विद्यार्थीको कोटाभन्दा चार गुणा बढीले भर्नाको आवेदन पर्ने गरी शैक्षिक गुणस्तर कायम गरेका छौँ । 

नगरपालिकाको आफ्नै योजनामा ३२ रोपनी जमिनमा कभर्ड हल निर्माण सम्पन्न गरेका छौँ । उक्त हलमा बास्केटबल, फुटबल, भलिबललगायतका खेल खेल्न सकिन्छ । अब नगरपालिकाले गोकर्णेश्वर च्याम्पियनसिप गराउने तयारी गरेको छ । नगरपालिकाका ठाउँ ठाउँमा अन्य विभिन्न खेल मैदान निर्माण गरेका छौँ । युवालाई स्वस्थ बनाउनका लागि खेलप्रति आकर्षित गराउँदै छौँ । यिनै विषय नगरपालिकाको मेगा प्राजेक्टभित्र पर्छन् । 

नगरवासीलाई रोजगारी दिने गरी नगरपालिकाले के के काम गरेको छ ? 

नगरपालिकाको ग्रामीण भेगमा व्यावसायिक बाख्र्रापालनका लागि नगरपालिकाले एक करोड रुपियाँ बराबरको बाख्रा स्थानीय किसानलाई अनुदान प्रदान गरी स्थानीय किसानलाई व्यावसायिक बाख्रापालन गर्न अभिप्रेरित गरेका छौँ । च्याउ विदेश पठाउने गरी च्याउ खेतीलाई व्यावसायिक बनाउँदै गएका छौँ । त्यस्तै किसानलाई नगरपालिकाले १४५ वटा ट्याक्टर वितरण गरी व्यावसायिक खेतीप्रति आत्मनिर्भर बनाएका छौँ । महिलालाई सिपमूलक बनाउनका लागि तोरी पेल्ने मेसिन, अचार बनाउने तालिम, जुत्ता बनाउने तालिमलगायतका सिप र रोजगार प्रदान गरेका छौँ । नगरपालिकाभित्र अपाङ्गता भएका व्यक्ति धेरै बस्छन् । नगरपालिकाले ह्विलचेयर मर्मत गर्नका लागि कर्मचारीको व्यवस्था गरी ह्विल चेयर मर्मत गरी अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेका छौँ । नगरवासीलाई पूर्ण रूपमा रोजगार दिलाउनका लागि सम्भावित रोजागरीका क्षेत्रका बारेमा नगरपालिकाले अहिले अध्ययन गरिरहेको छ । आगामी आर्थिक वर्षदेखि उक्त सम्भावित रोजागारीका क्षेत्रमा बजेट विनियोजन गरी क्रमिक रूपमा नगरवासीलाई अध्ययनबाट प्राप्त क्षेत्रमा रोजगार दिने नीति नगरपालिकाले बनाएको छ  । 

अबको बाँकी तीन वर्षमा के के काम गर्ने योजना छ ? 

अबको एक वर्षमा हामी नगरवासीको आधारभूत सबै आवश्यकता पूरा गरी सक्छौँ । त्यसपछिको समयमा भनेको नगरपालिकालाई पूर्णतः स्वस्थ, सफा, सुन्दर बनाउने गरी वार्षिक नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै जाने छौँ । नगरवासीलाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा पूर्णतः समस्यारहित बनाउने गरी काम गर्ने योजना छ । 

सङ्घीय र प्रदेश सरकारसँग नगरपालिकाले के के अपेक्षा राखेको छ ? 

प्रदेश सरकारलाई  संविधान र कानुनले दिएको अधिकार अनुसार नै बलियो बनाउनु पर्छ । अहिले प्रदेश सरकारले काम नगरेकाले कतिपयले प्रदेश सरकारको काम छैन भने पनि प्रदेश सरकारलाई आफ्नो अधिकार प्रयोग गर्न दिएर प्रदेश सरकारलाई कामकाजी बनाउनु पर्छ । प्रदेश सरकारले स्थानीय तहले गर्ने ससाना योजनाको काम गर्ने होइन प्रदेशस्तरका विश्वविद्यालय, अस्पताल, प्रदेशभित्रका जिल्ला र पालिका जोड्ने सडकमार्ग निर्माण, हाइड्रो पावर निर्माण, फोहोर व्यवस्थापनलगायतका पूर्वाधारका काम गर्ने गरी प्रदेश सरकारलाई बलियो बनाउने र सङ्घीय सरकारले राष्ट्रियस्तरका योजनाको काम  गर्ने हो भने सङ्घीय व्यवस्था झनै बलियो हुन्छ ।