• १२ साउन २०८१, शनिबार

चतरा अस्पतालमा दीर्घ रोगको सेवा सुरु

blog

बाबुराम कार्की
वराहक्षेत्र, जेठ ४ गते ।
 चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ । चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा नसर्ने रोगहरूलाई लक्षित गरेर सुगर, प्रेसर, मुटु, किड्नी, दमलगायतका दीर्घ रोग सम्बन्धी छुट्टै क्लिनिक सेवाको सुरुवात गरेको हो ।

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ चतरामा रहेको चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा अस्पतालले दीर्घ रोगहरू सुगर, प्रेसर, मुटु, किड्नी र दम रोगसम्बन्धी क्लिनिक सेवाको विस्तार गरेको छ । दीर्घ रोगसम्बन्धी उपचार सेवाको उद्घाटन वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले गर्नुभएको थियो । नगरवासीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन र कुनै पनि नगरवासी नागरिकले रोग लुकाएर बस्नु नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थाको विकास गर्न स्थानीय सरकार लागि परेको उहाँले बताउनुभयो ।

केएचडिसि नेपाल र चतरा अस्पतालको सहकार्यमा सञ्चालित भएको क्लिकमा बिरामीको उपचार गर्न सुरु गरिएको छ । अस्पतालमा सेवा लिन आउने बिरामीहरू मध्ये सबैभन्दा बढी बिरामीहरू नसर्ने दीर्घ रोगीहरू भएकाले नसर्ने रोग उपचारका लागि क्लिनिकको सेवा सुरु गरिएको अस्पतालका प्रवक्ता यम भण्डारीले जानकारी दिनुभयो । नसर्ने रोग क्लिनिक सञ्चालनका लागि केएचडिसि नेपालले एक जना चिकित्सकलाई नियुक्त गरेको छ ।

क्लिनिक उद्घाटन कार्यक्रममा केएचडिसि नेपालका संरक्षक समेत रहनु भएका प्राध्यापक डा. सञ्जीव शर्माले जचाऔं, मिर्गौला मुटु बचाऔँ भन्ने नारासहित चतरा अस्पतालमा नर्सने रोगसम्बन्धी क्लिनिक सुरु गरिएको बताउनुभएको छ ।

चतरा अस्पताले २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, प्रसूति, फिजोयोथेरापी सेवा, एम्बुलेन्स, हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्स-रे, हरेक दिन स्त्री तथा प्रसूति, सेवाहरू  सञ्चालन गदै आएको अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेलले जानकारी दिनुभयो ।

२०७८ सालमानै देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा गराउन सफल चतरा अस्पतालले अस्पतालबाट दिइने सेवालाई बढाउँदै लगेको चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर २ का वडा अध्यक्ष होमप्रसाद गौतमले जानकारी दिनुभयो ।

अस्पतालले नगरवासीको सहजतालाई मध्यनजर गर्दै सार्वजनिक बिदाको दिन र शनिबार बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म अस्पतालका चिकित्सकद्वारा निःशुल्क बहिरङ्ग सेवा र २४ घण्टा आकस्मिक सेवा दिँदै आएको छ ।