• १३ असोज २०८१, आइतबार

उमेरै नपुगी बच्चा जन्माउने बढ्दै

blog

मुगु समाचारदाता

मुगु, जेठ ४ गते । जिल्लाभरि सूचीकृत भएका ३३ वटा बर्थिङ संस्थामा उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या ३३ प्रतिशत रहेको पाइएको हो । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार जिल्ला अस्पताल मुगुमा ३३ प्रतिशत किशोरीले २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको छ । 

एक वर्षको अवधिमा जिल्लाको सोरू, खत्याड, मुगमकार्मारोङ, छायानाथ रारा नगरपालिकाका साथै जिल्ला अस्पताल मुगुमा जाँच गराउन आएका कुल एक हजार ३१६ गर्भवतीमध्ये ३५० जना उमेर नपुग्दै गर्भवती भएको पाइएको छ । मुगमकार्मारोङ गाउँपालिकाको बर्थिङ सेन्टरमा १०६ जना गर्भवती भएकामध्ये ११ जना किशोरी २० वर्षमुनिका रहेका छन् । सोरू गाउँपालिकामा २३८ गर्भवती भएकामध्ये ५१ जना २० वर्षमुनि रहेको पाइएको छ ।

छायानाथ रारा नगरपालिकाको बर्थिङ सेन्टरमा ६२५ गर्भवती भएकामध्ये १० जना महिलाले उमेर नपुग्दै बच्चा जन्माएका छन् । खत्याड गाउँपालिकामा ३४७ गर्भवती भएकामध्ये ६२ जनाले उमेर नपुग्दै २० वर्षमुनि बच्चा जन्माएको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ । 

जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख कमल ढुङ्गानाका अनुसार जिल्लामा सूचीकृत बर्थिङ संस्थाको तथ्याङ्कमा उमेर नपुग्दै बच्चा जन्माउनेको सङ्ख्या धेरै देखिए पनि जिल्ला अस्पतालमा छिमेकी जिल्लाको तथ्याङ्कसमेत रहेकाले बढी देखिएको हो ।