• १२ साउन २०८१, शनिबार

सारङ्गीसँग साइनो छाड्दै गन्धर्व

blog

पोखरा महानगरपालिका–५, मालेपाटनमा केही दिनअघि सारङ्गीसँगै गीत सुनाउँदै गन्धर्व महिला । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ ४ गते । सारङ्गी भन्नेबित्तिकै धेरैले गन्धर्व सम्झन्छन् । लडाइँका कथा, देशविदेशका घटनालाई मर्मस्पर्शी भाकामा गाउने गन्धर्व जातिले गाउने पेसा अपनाउँदै आएका छन् । जीविकोपार्जनका लागि सहर, गाउँघर र सार्वजनिक यातायातमा सारङ्गी रेट्दै दुःख र सुखका कथा, कर्खा, मागल र हास्यरसयुक्त भाका गाउने गन्धर्व जाति धेरै जसोले गाउने पेसा छाड्दै गएका छन् । सारङ्गी, अर्बाजो जस्ता बाजासँग गन्धर्वको साइनो छुट्दै गएको छ । 

कास्कीको पोखरा महानगरका बाटुलेचौर, हेमजा, बडहरे र गगनगौँडामा करिब एक हजार गन्धर्वको बसोबास छ । उनीहरू थरमा गायक लेख्छन् । कास्कीमा अहिले कर्खा गाउँदै हिँड्ने एक/दुई जना मात्र छन् । कर्खा गाउन सिपालु गोविन्द गायकले उमेरका कारण गाउँघर डुल्दै गाउने काम छाड्नुभएको छ । बाटुलेचौरका दिलीप गायकका अनुसार अहिले कास्कीमा मुस्किलले २५ जना जति परम्परागत पेसा गर्ने गन्धर्व रहेका छन् । झलकमान राष्ट्रिय सारङ्गी पाठशालाका अध्यक्ष गायकका अनुसार सारङ्गी सिक्नका लागि गैरगन्धर्वसमेत आकर्षित बन्दै गएका छन् । पाठशालाबाट पाँच सयभन्दा बढीले सारङ्गी सिकिसकेका छन् ।

उहाँले भन्नुभयो, “अहिले १५ जनाले सारङ्गी सिकिरहेका छन् । हामी कर्खालाई जोड दिएर सिकाइरहेका छौँ तर परम्परागत पेसाबाट जीवन चल्न नसक्ने हुनाले धेरैले गाउने पेसा छाड्दै गएका छन् ।” सारङ्गी सिकेर गीत, सङ्गीतमा लाग्ने, मेला महोत्सवमा बजाउने क्रमचाहिँ बढेको छ । बडहरेकी ६१ वर्षीय मनमाया गायक घर घर डुली गाउने काम गर्न नसक्ने अवस्थामा पुगेको बताउनुहुन्छ । उहाँका दुई छोरा विदेश छन् । नातिनातिनाले सारङ्गी बजाउने र गाउने काम गर्न मान्दैनन । उहाँ भन्नुहुन्छ, “छोराहरूले त सिक्न खोजेनन्, नातिनातिनाले सिकेर के काम गर्लान् र ?” सारङ्गी रेटेर गीत गाउँदै हिँड्दा अनेकौँ अपमानका पीडा बेहोर्नुभएका मनमायाले भन्नुभयो, “कोही कोही मात्र गीत सुन्ने, पानी खाऊ, खाजा खाऊ भन्ने पनि भेटिन्छ । कतिले त पर्दैन पर्दैन भनेर घर छिर्नै दिँदैनन् ।”

लोकसंस्कृतिविद् डा. तुलसी प्रवासका अनुसार समाजको हेय व्यवहार र आर्थिक कारण गन्धर्वले परम्परागत पेाि छाड्न थालेका छन् । कास्कीका गन्धर्वबारे अनुसन्धान गर्नुभएका डा. प्रवास भन्नुहुन्छ, “पुरानो पेसाबाट गन्धर्व विमुख हुनुको मुख्य कारण समाजले उनी रूलाई हेर्ने हेयको दृष्टिकोण नै हो । नयाँ पुस्ताले सधैँ मागेर खान चाहँदैन, केही नयाँ गर्न चाहन्छ ।” सारङ्गी बोकेर कर्खा, मागल, रामायण, महाभारतका कथा गाउँदै हिँड्ने पुरानो पुस्ता वृद्ध हुँदै गएका छन् । नयाँ पुस्ता विदेश वा अरू पेसामा जाँदा सारङ्गी वादन र गायनमा गन्धर्व जातिको कमी हुँदै गएको छ । उहाँ भन्नुहुन्छ, “गन्धर्वहरूमा गीत गाउँदै, माग्दै हिँड्दा हीनताबोध भएको देखियो । दलित भनेर हेला गरेको पाइयो । समाजले सम्मानित व्यवहार नगर्दा कतिपयले जात परिवर्तन गरी ज्याला, मजदुरी गर्दै गरेको पनि भेटियो ।”