• १२ साउन २०८१, शनिबार

बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान

blog

जुनेलो र फापरखेती । तस्बिर : रासस

गलेश्वर (म्याग्दी), जेठ ३ गते । बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् । 

पछिल्लो समय बजारमा जुनेलो र फापरको माग ह्वात्तै बढेको छ । विशेषगरी सहरिया उपभोक्ताको दैनिक उपभोग्य वस्तुका रूपमा जुनेलो र फापरको परिकार बन्ने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् । दुई/चार वर्षअघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुका रूपमा हेरिन्थ्यो । त्यसले खेती पनि क्रमशः कम हुँदै गएको थियो । पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएको मालिका गाउँपालिका-२ का किसान टेकबहादुर विकले बताउनुभयो ।

पश्चिम म्याग्दीका प्रायः सबै गाउँमा जुनेलो र फापरखेती हुने भए पनि पछिल्लो समय किसानले खेती गर्न छाडेका थिए । विगत पाँच वर्षयता बजारमा जुनेलो, फापर, भाँगो र रातो सिमीको माग बढ्दै गएपछि किसानले अरू बाली छाडेर बजारमा बिक्री हुने र राम्रो मूल्य पाइने भाँगो, जुनेलो र फापरको खेती विस्तार गरेको विकले जानकारी दिनुभयो । “केही वर्षअघिसम्म जुनेलो खासै बिक्री हुँदैन थियो, त्यसैले खेती गर्न छाडेका थियौँ तर अहिले घरमै खरिद गर्ने व्यापारी आउने गरेका छन्”, विकले भन्नुभयो । विकलगायत रुमका प्रायः सबैले भाँगो, जुनेलो र फापरखेती गरेका छन् । जुनेलो बजारमा प्रतिपाथी चार सयका दरले बिक्री हुने उहाँले बताउनुभयो ।

त्यसै गरी फापरको पनि बजारमा माग बढेको छ । विशेष गरी उपभोक्ताले तीते फापर खोज्ने भएकाले किसानले पनि तीते फापरकै खेती बढाएका छन् । पहिले पहिले गाउँघरमा सागका लागि तीते फापरखेती गर्ने गरेको किसान बताउँछन् । पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको मङ्गला-५ की गोमा रोकाले बताउनुभयो । “हाम्रो बारीमा पहिले तीते फापर फल्दैन थियो”, रोकाले भन्नुभयो, “आफैँले खाजामा रोटी खानका लागि मिठे फापर लगाइन्थ्यो ।”

दुई वर्षयता मिठेको साटो तीते फापरको खेती गर्न थालेको उहाँले बताउनुभयो । “घट्ट वा मिलमा पिँधेको फापरको मिठोसँग चामल साटिन्छ”, उहाँले भन्नुभयो, “बजारमा पनि फापरको उच्च माग रहेको छ ।” गाउँमा उत्पादन भएको फापर एक पाथीको दुई सयदेखि तीन सयसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । रासस