• ११ मंसिर २०८१, मङ्गलबार

६० जनालाई अपाङ्गता परिचयपत्र

blog

अपाङ्गता भएको परिचय पत्र सेवाग्राहीलाई प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष लामा । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, जेठ ३ गते । उत्तरी नाम्खा गाउँपालिकामा बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो पटक वडा स्तरमा पुगेको टोलीबाट अपाङ्गता परिचय पत्र प्रदान गरिएको छ । हालसम्म परिचय पत्र नपाएका अपाङ्गता भएका व्यक्तिहरूलाई बस्ती स्तरमा टोली पुगेर नयाँ अपाङ्गता परिचय पत्र तयार पारेर प्रदान गरिएको हो । 

अपाङ्गता भएकाहरूका व्यक्तिहरूलाई समितिको सिफारिसको आधारमा अपाङ्गता परिचय पत्र वितरण शिविर सञ्चालन गरेर प्रदान गर्ने कार्य भएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले बताउनुभयो । उहाँले हालसम्म परिचय पत्र पाउनबाट वञ्चित भएका र सदरमुकाम सिमकोटसम्म आउन नसक्ने त्यस्ता व्यक्तिहरूका लागि शिविर सञ्चालन गरेर परिचय पत्र प्रदान गरिएको बताउनुभयो ।  

पहिलो दिन नाम्खा गाउँपालिका–४ बाट सुरु गरेर चार दिन लगाएर परिचय पत्र वितरण गरिएको थियो । गाउँपालिकाकाको वडा नम्बर १ , २, ३, ४ र ५ का बस्तीहरू हेपा, धिंगा, ताङ्गीन, खगालगाउँ, लुम, लामाल खोल्सी, त्यादुक, केर्मी, चाला, लाल्वाङ, याङ्गार, मुचु, तुम्कोट र यारीका सेवाग्राहीहरूलाई परिचय पत्र प्रदान गरिएको छ । शिविरबाट साठी जना विभिन्न वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र प्रदान गरिएको हो । यसमा एक जना क वर्गका अपाङ्गता भएका व्यक्ति रहनुभएको छ भने अन्य भने ख, ग र घ वर्गका व्यक्तिहरूलाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो । 

पहिलो पटक परिचय पत्र पाएसँगै उहाँहरूले अब गाउँपालिकाबाट पाउने सेवा र सुविधाका लागि पनि हकदार हुनुभएको छ । परिचय पत्र नपाएको कारण यसअघि उहाँहरू आंशिक र पूर्ण अपाङ्गता भत्ता पाउनबाट वञ्चित हुँदै आउनुभएको थियो । यसका लागि जिल्ला अस्पतालबाट चिकित्सक कैलाश लामाको सहभागिता रहेको छ । उहाँ लगायतको समितिको सिफारिसमा परिचय पत्र प्रदान गरिएको हो । 

शिविर गाउँपालिकाको आयोजना, मिसनिष्ट नेपालको आर्थिक सहयोग र हिमाली शिक्षा र विकास हेड नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको हो  ।