• २३ भदौ २०८१, आइतबार

कश्मीरमा बन्धक बनाइएका ३५ नेपाली मजदुरको उद्धार

blog

उद्धार गरेर ल्याइएकालाई सदरमुकाम मलङ्गवामा स्वागत गरिँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, जेठ ३ गते । भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका मजदुर बिहीबार नेपाल आइपुगेका छन् । सर्लाही, महोत्तरी र धनुषाका ३५ जना मजदुर बिहीबार बिहान सर्लाहीको मलङ्गवा नाका हुँदै नेपाल आइपुगेका हुन् । 

उनीहरूलाई मङ्गलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा उद्धार गरिएको थियो । कानुनी प्रक्रिया पूरा गरी सबैलाई बिहीबार नेपाल ल्याइएको हो । उद्धार गरिएका ३५ मध्ये १२ जना सर्लाहीको ईश्वरपुर नगरपालिकाका युवा रहेका नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो । 

१२ जना मुसहर (माझी) समुदायका हुन् । आफ्नो नगरभित्रका १२ जनासहित धनुषा र महोत्तरीका समेत गरी ३५ जनालाई नगरप्रमुख आचार्यले मलङ्गवा नाकामै पुगेर स्वागत गर्नुभएको छ । तीन वटै जिल्लाका मजदुरलाई बिहीबार दिउँसो ईश्वरपुर नगरपालिकाले कार्यालयमा ल्याएर सम्मानसहित आ–आफ्नो घर पठाएको नगरप्रमुख आचार्यले जानकारी दिनुभयो । 

ईश्वरपुर नगरपालिकाले मजदुरलाई उद्धार गरी ल्याउने कार्यमा अहम् भूमिका निर्वाह गरेको भन्दै किन इण्डियाका निर्देशक नवीन जोशी, किन इन्डियाका कन्सुलर सृष्टि विष्ट र लक्ष्मी विष्ट र सामाजिक अभियन्ता सरोज रायलाई सम्मान पत्रसहित सम्मान गरेको छ । 

मजदुरीका लागि भनी भारतको कश्मीर पुर्‍याइएका  मजदुर करिब तीन महिनादेखि बन्धक बनेका थिए । काम लगाइदिने भन्दै कश्मीर पुर्‍याएका पछि आफूहरूमाथि कुटपिट गरी तलब नदिई डर, धम्की देखाएर बन्धक बनाएर काममा लगाएको उद्धार गरिएका युवाले बताएका छन् । 

सर्लाहीसहित तराई क्षेत्रमा मुसहरसहित आर्थिक रूपमा कमजोर रहेका विभिन्न समुदायका युवालाई ललाइफकाइ भारतमा पुर्‍याएका  निकै कम पारिश्रमिक दिएर अप्ठेरो काममा लगाउने गरिएको छ ।