• १३ असोज २०८१, आइतबार

दुर्घटना न्यूनीककरण गर्न ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन

blog

विद्यार्थीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गराउँदै दोलखा प्रहरी । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले
चरीकोट, जेठ ३ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले दुर्घटना न्यूनीकरण गर्नका लागी विद्यालयमा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानका विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लामा सडक दुर्घटनाका घटनामा वृद्धि हुन थालेपछि विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताउनुभयो ।

सो कार्यक्रमअन्तर्गत तामाकोशी गाउँपालिकाका २ वटा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो । तामाकोसी गाउँपालिका ३ मा रहेको सीतापाइला माध्यमिक विद्यालय र सोही गाउँपालिका ४ मा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई  ट्राफिक सचेतना प्रशिक्षण दिइएको भट्टराईले बताउनुभयो ।

स्कुलस्तरबाट नै विद्यार्थीहरुलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको उहाँको भनाइ छ । मुख्य गरी सहरी क्षेत्रका विद्यालयका विद्यार्थिहरुले व्यस्त सडक र राजमार्ग पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरुलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा गरिएको छ ।

विद्यार्थीहरुलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको बताउनुभयो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न जिज्ञासा र प्रश्नहरु सोधेको उहाँले बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गनुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपनै जस्ता चेतनामुलक विषयको प्रशिक्षण दिइएको र विद्यालयमा सिकेका कुराहरु परिवार र समुदायमा पनि सचेतना गराउन अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

सहर क्षेत्र ट्राफिक कारबाही गर्नेभन्दा पनि ग्रामीण समुदायमा नै पुगेर सचेतना गराउने कार्यक्रमलाई तीव्रता पारिएको र आगामी दिनमा अरु विद्यालयमा पुगेर कार्यक्रम ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।