• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशको साढे १० अर्ब बजेट खर्च

blog

अविनाश चौधरी

धनगढी, जेठ २ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल १० अर्ब ६४ करोड ६३ लाख रुपियाँ बजेट खर्च गरेको छ । 

आर्थिक वर्ष सकिन अब दुई महिना बाँकी रहेका बेला प्रदेश सरकारले कुल विनियोजित बजेटको हालसम्म ३६.३५ प्रतिशत बजेट खर्च गरेको हो । 

चालु आर्थिक वर्षमा २९ अर्ब २८ करोड ४० लाख रुपियाँ सरकारको बजेट रहेको छ । जसमध्ये वैशाख मसान्तसम्म चालु पाँच अर्ब ३४ करोड ४६ लाख र पुँजीगत पाँच अर्ब ६१ करोड १८ लाख रुपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । चालु आवको दुई महिना बाँकी रहेको बेला प्रदेश सरकारले १८ अर्ब ६३ करोड ७७ लाख रुपियाँ बजेट खर्च गर्न बाँकी रहेको छ । 

गएको वैशाख ६ गते प्रदेश सरकार गठन भए पनि मन्त्रीपरिषद्ले पूर्णता पाउन नसक्दा मन्त्रालयहरू नेतृत्वविहीन छन् । सरकारका विकासे मन्त्रालयहरूकै खर्च प्रगति सन्तोषजनक देखिएको छैन ।

सरकारले वित्तीय व्यवस्था शीर्षकमा छुट्टाएको ३० करोड र अर्थ विविध शीर्षकमा छुट्टाएको एक अर्ब ५३ करोड ४४ लाख रुपियाँ बजेटमध्ये अहिलेसम्म एक रुपियाँ पनि खर्च भएको छैन । 

आर्थिक वर्षको योजना कार्यान्वयन हुने बेला सरकार फेरबदल भएपछि त्यसको असर बजेट कार्यान्वयनमा परेको नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । “चैतदेखि असार मसान्तसम्म काम हुने बेला हो । यही बेला सरकार परिवर्तन भएपछि अहिले पनि मन्त्रालय खाली छन्” उहाँले भन्नुभयो, “मन्त्रीहरू नहुँदा बजेट खर्चमा समस्या भएको देखिन्छ ।”