• १३ साउन २०८१, आइतबार

तिलामा घर जल्दा चार बालबालिकाको जलेर मृत्यु

blog

जुम्ला, वैशाख १० गते । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिंह सार्किको घर जल्दा दुई छोरी, एक छोरा र भान्जीसहित चार बालबालिकाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दकाअनुसार ४ बालवालिका मध्ये तुलासा सार्की  ( वर्ष १४), अनु सार्की (वर्ष ११), दर्शना सार्की (वर्ष ३) र एक वर्षको दिपेश सार्कीको मृत्यु भएको छ ।

मानसिंह नेपाली र निजकी श्रमिति फागुनी सार्की, बहिनी समेत बेहोस भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ । 

आगलागी नियन्त्रणका लागि भने मध्यरात प्रमुख जिल्ला अधिकारी विजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहित नेपाल प्रहरी,  सशस्त्र प्रहरी र नेपाली सेना र स्थानीयले घटनास्थलमा गएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

जुम्ला सदरमुकामबाट करिब एक घण्टा टाढा सो गाउँमा आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राति ११ः४५ बजे घटना भएको र ३ः३० मा नियन्त्रणमा आएको थियो । 


लेखक बाट थप