• १२ साउन २०८१, शनिबार

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बिमा

blog

यार्सा टिप्नेहरु । फाइल तस्बिर

मुगु, जेठ २ गते । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरूको सुरक्षाका लागि दुर्घटना बिमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुमा कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरूको दुर्घटना बिमा गरेको हो ।

ठुलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि दुर्घटना बिमा शीर्षकमा बजेट छुटाउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिनुभयो । 

“यो बिमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेको हुनुपर्छ । वनमा प्रवेश शुल्क लिँदा गाउँपालिकाले सङ्कलकको आवश्यक व्यक्तिगत विवरणसँगै लिने गरेको छ”, उहाँले भन्नुभयो । पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्तालाई पनि यस बिमा कार्यक्रममा समेटिएको रावलले बताउनुभयो । उहाँका अनुसार पालिकाले बिमाका लागि चालु आवमा पाँच लाख बजेट विनियोजन गरेको छ । गत वर्ष यस योजनाबाट दुई जनाको परिवार लाभान्वित भएको रावलको भनाइ छ । उहाँका अनुसार बिमाबापत पीडित परिवारले न्यूनतम ५० हजार र अधिकतम एक लाख ५० हजारसम्म रकम पाउने छन् । 

पालिकाको सीमित बजेटले थोरै भए पनि पीडामा पर्ने व्यक्ति र परिवारलाई राहत पुगोस् भनेर यो प्रयास सुरु गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताउनुभयो । यो कार्यमा सङ्घीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने उहाँको भनाइ छ । “यार्सा खरिदकर्ताले राजस्व नेपाल सरकारलाई तिर्छन् । पाटनमा यार्सा टिप्नु भनेको बाघको मुखबाट दाता निकाल्नु सरह हुन्छ । यार्सा टिप्न जाने हजारौँ सङ्कलकको जीवन र आश्रित परिवारको भरणपोषणका लागि राज्यको दायित्व निर्वाह गर्नुपर्छ”, अध्यक्ष लामाले भन्नुभयो, “कर्णाली प्रदेश सरकारले कर्णालीवासीको दुर्घटना बिमा कार्यक्रम लागू गरेको धेरै भए पनि यार्सा सङ्कलक भने यसबाट लाभान्वित हुन सकेका छैनन् ।”

बिमा प्राप्तिका जटिल प्रक्रिया हुँदा गरिब तथा विपन्न परिवार यस कार्यक्रममा सहभागी हुन नसकेका अध्यक्ष लामाको भनाइ छ । आगामी दिनमा यार्सा सङ्कलकको अनिवार्य बिमा गर्ने नीति सरकारले नै लिनुपर्नेमा उहाँले जोड दिनुभयो । मुगुका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि यही जेठ १५ गतेदेखि वन प्रवेश खुल्ला गरिँदै छ । बर्सेनि पाटनमा सयौँ यार्सा सङ्कलक बिरामी तथा घाइते हुँदै आएका छन् भने दर्जन बढीले ज्यान गुमाउने गरेका छन् । पालिकाको बिमा योजनाले पीडित र आश्रित परिवारलाई ठुलो राहत पुग्ने स्थानीय कार्मा सेराफ लामाले बताउनुभयो । समय अनुसार बिमा रकम समायोजन हुनुपर्ने उहाँको भनाइ छ । रासस