• १२ साउन २०८१, शनिबार

तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद

blog

गोदार (धनुषा), जेठ २ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ । धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा एक करोड ५८ लाख ६५ हजारभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको एकाइबाट खटेको प्रहरी टोलीले गत वैशाख २९ गते बिहान बिलबिजकभन्दा २३ लाख ४५ हजार आठ सय ४० बढीका सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको हो । यस्तै वैशाख ३० गते राती ३४ लाख ९१ हजार दुई सय बराबरको २१ क्विन्टल प्याजसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको तिवारीले बताउनुभयो । 

त्यसै गरी वैशाख ३१ गते दिउँसो ८९ लाख ४६ हजार नौ सय बराबरको ६ सय कार्टुन मदिरासहितको ट्रक ढल्केबर नियन्त्रणमा लिएको र सोही दिन गणेशमान चारनाथ नगरपालिका-८ बाट १० लाख ८१ हजार तीन सय ३२ बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको सामान तथा गाडीहरु थप अनुसन्धानका लागि सम्बन्धित निकायहरु आन्तरिक राजस्व कार्यालय जनकपुर, जनकपुर भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएका छन् । 

प्रहरी उपरीक्षक तिवारीले भन्सार छलेर ल्याइएका सामानको ओसारपसार रोक्न वैशाख अन्तिम सातादेखि अभियानकै निगरानी बढाइएको र यसबाट राजस्व चुहावट न्यूनीकरणमा सघाउ पुग्ने अपेक्षा रहेको बताउनुभयो । रासस