• २१ असार २०८२, शनिबार

नौ महिनासम्मको प्रगति कम

blog

बनेपा समाचारदाता 

बनेपा, जेठ २ गते । उपभोक्ता समिति, निर्माण व्यवसायीहरूले अधिकांश योजनाको काम तथा भुक्तानी आर्थिक वर्षको अन्तिममा भुक्तानी माग्ने परिपाटीले काभ्रेपलाञ्चोक जिल्लामा रहेका अधिकांश कार्यालयको वित्तीय र भौतिक प्रगति कम देखिएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा भएको चालु आर्थिक वर्षको तेस्रो चौमासिक ९चैत मसान्त० सम्मको प्रगति समीक्षामा जिल्लामा रहेका कार्यालयको वित्तीय र भौतिक प्रगतिमा कम देखिएको हो । 

जिल्लास्थित कार्यालयहरूको प्रगति प्रतिवेदन अनुसार अन्य कार्यालयको तुलनामा पूर्वाधार विकासको क्षेत्रमा काम गर्ने कार्यालयहरूको वित्तीय तथा भौतिक प्रगति कम देखिएको छ । प्रतिवेदन सहरी विकास तथा भवन कार्यालयको चैत मसान्तसम्म वित्तीय प्रगति ४२ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको उल्लेख छ । यसै गरी भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको चालु आवको नौ महिनासम्ममा वित्तीय प्रगति ३१ प्रतिशत मात्रै भएको छ । कृषि विकास कार्यालयको चैत मसान्तसम्मको वित्तीय प्रगति १२।७८ प्रतिशत र भौतिक प्रगति २०।७१ प्रतिशत रहेको छ । काभ्रेपलाञ्चोक जिल्ला र भक्तपुर जिल्ला कार्य क्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले चैत मसान्तसम्म ५८ प्रतिशत वित्तीय प्रगति र ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।

कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले किसानले आर्थिक वर्षको अन्त्यमा योजनाको काम गर्ने तथा गरिएका कामको भुक्तानीसमेत अन्तिममा लिने भएकाले चैत मसान्तसम्मको कार्यालयहरूको भौतिक र वित्तीय प्रगति कम देखिएको बताउनुभयो । सहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले चैत मसान्तसम्मको काम सन्तोषजनक नै रहेको बताउनुभयो ।

विकास बजेट खर्च ४० प्रतिशत

रामेछाप समाचारदाताका अनुसार रामेछापको मन्थली नगरपालिकाले झन्डै दस महिनाको अवधिमा ५५ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु आर्थिक २०८०/८१ को साउन महिनादेखि वैशाख २५ गतेसम्म नगरपालिकाले एक अर्ब चार करोड ५४ लाख ९२ हजार बजेटको ५५ प्रतिशत अर्थात् ५७ करोड ५० लाख २० हजार छ सय रुपियाँ खर्च गरेको हो । यो अवधिसम्म नगरपालिकाको चालु आवको बजेटको चालुतर्फ ६५ प्रतिशत र पुँजीगत खर्च ४० प्रतिशत गरी ५५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “चालुतर्फ ४५ करोड ९३ लाख ९२ हजार बजेट विनियोजन भएको अहिलेसम्म ६५ प्रतिशत अर्थात् २९ करोड ८६ लाख चार हजार आठ सय रुपियाँ र पुँजीगततर्फ ५८ करोड ६१ लाख रुपियाँ बजेटको ४० प्रतिशत अर्थात् २३ करोड ४४ लाख ४० हजार रुपियाँ मात्रै खर्च भएको छ ।” प्रमुख प्रशासकीय अधिकृत चापागाईंले चालु आवमा चार करोड ३० लाख रुपियाँ आन्तरिक आम्दानी हुने लक्ष्य लिएकोमा वैशाख २५ गतेसम्म लक्ष्यको झन्डै ७४ प्रतिशत तीन करोड १६ लाख ५५ हजार रुपियाँ आम्दानी भएको बताउनुभयो । 

४१ प्रतिशत योजनाको भुक्तानी

१४ वटा वडा रहेको यस नगरपालिकामा चालु आवमा सम्पन्न हुनुपर्ने ४४८ वटा योजनाको जम्मा ४१।७४ प्रतिशत योजनाको भुक्तानी भएको छ । चालु आवको चैत महिनासम्ममा ३०८ योजनाको सम्झौता भएकोमा १८७ योजनाको भुक्तानी भएको योजना प्रशासन, अनुगमन तथा मर्मत उपशाखाका नायब सुब्बा ज्योति सुवेदीले बताउनुभयो । चैत महिनासम्म १४० वटा योजना सम्झौता गर्न बाँकी रहेकोमा वैशाख महिनामा धेरै योजनाको सम्झौता भएर धमाधम काम भइरहेको उहाँले बताउनुभयो ।