• १२ मंसिर २०८१, बुधबार

कार्बन व्यापारसम्बन्धी प्रशिक्षण

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, जेठ २ गते । वन क्षेत्रमा देखिएका पछिल्ला दिनका चुनौती, अवसर, वन सुशासन, कार्बन व्यापार र जलवायु परिवर्तनसम्बन्धी सञ्चारकर्मीलाई प्रशिक्षण गरिएको छ । 

रेड कार्यान्वयन केन्द्र काठमाडौँ र नेपाल इन्भारोमेन्ट जर्नालिस्ट एसोसिएसन (नेजा) द्वारा आयोजित ‘वन संवर्धन र सुशासन अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक प्रशिक्षणमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सञ्चारकर्मीको सहभागिता रहेको थियो । प्रशिक्षणमा विशेष गरी वन, वातावरण तथा संरक्षण क्षेत्रमा कलम चलाउने २५ जना सञ्चारकर्मीको सहभागिता रहेको थियो । 

प्रशिक्षण कार्यक्रममा रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले नेपालमा वन संरक्षण, वनको वर्तमान अवस्था, सङ्घीयतामा वन संरक्षणको बदलिँदो अवस्था र चुनौती, कार्बन व्यापार, जलवायु परिवर्तनमा अन्तर्राष्ट्रिय सहयोग प्राप्ति, सदुपयोग र चुनौतीलगायतका विषयमा प्रशिक्षण दिनुभयो । प्रशिक्षण कार्यक्रममा जलवायु परिवर्तनमा स्थानीय समुदायमा परेको प्रभाव, जलवायु वित्त र यसको सदुपयोग, वातावरणीय समाचारका कोण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकालगायतका विषयमापनि प्रशिक्षण दिइयो । 

‘हरियो वन नेपालको धन’ भन्ने उक्ति सुनिने गरेकामा नेपालमा पछिल्ला दिनमा वनजङ्गलबाट काठ उत्पादन हुन छाडेको छ । यसै सन्दर्भमा समृद्धिका लागि वन र नेपालको हालको अवस्थाका विषयमा पशुपति कोइरालाले सञ्चारकर्मीलाई प्रशिक्षण दिनुभयो ।