काठमाडौँ जेठ १ गते । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्यान्डबिचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपालका लागि दिल्लीस्थित पोल्यान्डका आवासीय कार्यवाहक राजदूत डा.सबेस्टियन डोमजाल्स्कीबिचको भेटमा चेम्बरले पोल्याण्डलाई लगानी गर्न आग्रह गरेको हो ।
भेटमा चेम्बरका अध्यक्ष कमलेश अग्रवालले दुई मुलुकबिच आर्थिक सम्बन्ध विस्तारका लागि नेपालको ग्रीन हाइड्रोजनमा लगानी गर्न कार्यवाहक राजदूतसमक्ष आग्रह गर्नुभयो । “नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै यसको माग उच्च छ, पोल्यान्ड र नेपालको पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुक भएकाले पनि लगानीका लागि नेपाल आकर्षक गन्तव्य हो”, अध्यक्ष अग्रवालले भन्नुभयो ।
उहाँले नेपालमा अन्तर्राष्ट्रिय लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको उल्लेख गर्नुभयो । अध्यक्ष अग्रवालले नेपालको जलविद्युत, पर्यटन, खानीलगायतका क्षेत्रमा लगानी गर्नसमेत डा.सबेस्टियनसमक्ष आग्रह गर्नुभयो । उक्त भेटमा आवासीय कार्यवाहक राजदूत डा.सबेस्टियनले नेपालको चिया र कफीको बजार सम्भावना खोज्न सकिने बताउनुभएको थियो । दुई देशबिचको कूटनीतिक सम्बन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले फाइदा खोज्नुपर्ने उहाँको भनाइ थियो । रासस