• १२ साउन २०८१, शनिबार

सरकारले 'परिवर्तनका लागि कला र साहित्य कार्यक्रम' सञ्चालन गर्ने

blog

काठमाडौं, जेठ १ गते । सरकारले चलचित्र पर्यटन प्रवर्द्धन गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । 

उहाँले हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने बताउनुभयो । उहाँले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइने जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेलले राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याइने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय महत्त्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गरिने तथा मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास बताउनुभयो । यस लगायत राष्ट्रपति पौडेलले जानकी मन्दिर लगायतका महत्त्वपूर्ण सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने समेत जानकारी दिनुभयो । उहाँले सांस्कृतिक तथा धार्मिक स्थलको पर्यटकीय विकासका लागि संस्थागत व्यवस्था गरिने बताउनुभयो । उहाँले बुद्ध परिथप, शिव परिथप, रामायण परिथप, किराँत सांस्कृतिक परिथपको मार्ग निर्धारण गरी पर्यटन प्रवर्द्धन गरिने बताउनुभयो ।

यस्तै, समाज रूपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक चलचित्र, गीत, सङ्गीत, अनुसन्धान तथा स्वदेशी चलचित्रको प्रवर्द्धन गर्न “परिवर्तनका लागि कला र साहित्य कार्यक्रम” सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

राष्ट्रपति पौडेललेले आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान निर्माण कार्यलाई तीव्रता दिइने बताउनुभयो । 

राष्ट्रपति पौडेलले पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिने पनि उल्लेख गर्नुभयो । उहाँले पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले पर्यटन क्षेत्रका कार्यक्रमको पुनः संरचना गर्दै राष्ट्रिय पर्यटकीय गन्तव्य प्रोफाइल तयार गरी पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिने बताउनुभयो। उहाँले पर्यटकीय सम्भावना भएका पहाडी भूभागमा स्थानीय स्रोतसाधनको प्रयोग तथा रोजगारी सिर्जना हुनेगरी तीनै तह र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्यको विकास गरिने उल्लेख गर्नुभयो । 

उहाँले 'ग्रेट हिमालयन ट्रेल' लगायतका पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बताउनुभयो ।