• १३ असार २०८१, बिहिबार

बागमती प्रदेश सभा : बजेटको सिद्धान्त र प्राथमिकता पेस

blog

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया प्रदेशसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकता प्रस्तुत गर्नुहुँदै । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ १ गते ।
 बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको छ । 

मङ्गलबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता (प्रि बजेट) पेस गर्दै मन्त्री थपलियाले सुशासन कायम गर्ने दायित्व प्रदेश सरकारमा रहेको बताउनुभयो ।

उहाँले रोजगारी  सिर्जना गर्ने,  प्रभाकारी सेवा प्रवाह गर्ने, सार्वजनिक खर्चलाई पुँजी निर्माण केन्द्रित गर्ने, दिगो विकासका लक्ष्य हासिल गर्ने, साधारण खर्च कटौती गर्ने, पुँजीगत खर्चको प्रभावकारिता बढाउने र विकास आयोजनाहरू तोकिएको समयमा पूरा गर्ने चुनौती हाम्रो सामु रहेको बताउनुभयो ।

उहाँले प्रदेशलाई लगानीमैत्री प्रदेशको रूपमा विकास गर्नु अहिलेको आवश्यकता भएको भन्दै प्रदेशवासीको जीवनस्तर उकास्नु अहिलेको अपरिहार्यता भएको बताउनुभयो ।

आर्थिक–सामाजिक रूपमा पछि परेका क्षेत्रको उत्थान गर्ने प्रदेशको मूल नीति हुनुपर्ने भन्दै मन्त्री थपलियाले भन्नुभयो, ‘‘प्रदेशका आर्थिक क्रियाकलापलाई गतिशील बनाएर प्रदेश र मुलुकको समृद्धि गर्नु आवश्यक छ ।’’

उहाँले पुँजी वृद्धिको क्षेत्रमा लगानी गरिने बताउनुभयो । आगामी आवको विनियोजन विधेयकको प्राथमिकातामा भौतिक पूर्वाधार, कृषि, रोजगारी सिर्जना र पर्यटनलाई प्राथमिकता रहेको भन्दै उहाँले प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई जनमुखी बनाउने र पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्ने योजना रहेको सुनाउनुभयो ।

मन्त्री थपलियाले पेस गर्नुभएको प्रि बजेटमाथि बुधबार बस्ने प्रदेश सभाको बैठकमा छलफल गरिने भएको छ । यसै अधिवेशनमा अवधिमा प्रि बजेटको छलफलपछि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।