• १३ साउन २०८१, आइतबार

व्यापार मेलामा साढे सात करोडको कारोबार

blog

काठमाडौँ, जेठ १ गते । घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा राजधानीको भृकुटीमण्डपमा सुरु भएको १७ औँ औद्योगिक व्यापार मेलामा सात करोड ६५ लाख रुपियाँको कारोबार भएको हो । पाँच दिनसम्म चलेको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न भएको छ ।

आइतबार सम्पन्न भएको मेलालाई दुई लाख ५३ हजारले  अवलोकन गरेका थिए । महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मेला सोचेभन्दा सफल भएको जानकारी दिनुभयो । मेलामा प्रत्यक्ष/अप्रत्यक्ष, अडर, बुकिङसमेत गरी समग्रमा सात करोड ६५ रुपियाँ बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो । 

आर्थिक सङ्कट भई उपभोक्ताको क्रयशक्ति न्यून हुँदा पनि उपभोक्ताको स्वदेशी उत्पादनप्रति आकर्षण धेरै देखिएको उहाँको भनाइ छ । प्रदर्शनीका सहभागीको चापबाट स्वदेशी वस्तु प्रयोग गर्नु पर्छ भन्ने चेतना बढ्दो क्रममा रहेको देखिएको उहाँले बताउनुभयो ।

भूकम्प, कोरोना र आर्थिक मन्दीबाट अहिले लघु, घरेलु तथा साना उद्यमीहरू सताइएको भन्दै उहाँले साना उद्योगको अर्थतन्त्रमा योगदान बढाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।

समापन समारोहमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालको उत्पादन ‘ब्रान्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताउनुभयो ।

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेले प्रदर्शनीकै क्रममा स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह विक्रेता र उपभोक्ताबिचको सम्बन्ध प्रगाढ बनाउन गरिएको मह मेला प्रभावकारी भएको बताउनुभयो ।

मुलुकभरका झन्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने रहेको थियो ।

यसै गरी नेपाल मौरीपालक महासङ्घ र नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिएको थियो ।

नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो ।