• १२ असार २०८१, बुधबार

नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

blog

फाइल तस्बिर

दमौली (तनहुँ), वैशाख ३१ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका-११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार गरिएको हो । 

विगतमा गर्भवतीलाई मात्रै भिडियो एक्स-रे सेवा दिने गरिएकामा अब सबैका लागि खुला गरिएको अस्पतालका मेडिकल अधिकृत डा.विज्ञान क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब यो सेवा बिदाका दिनबाहेक अन्य दिनमा पनि आवश्यकताअनुसार सबै सेवाग्राहीलाई प्रदान गरिनेछ ।” राइपुरमै भिडियो एक्स-रे सेवा विस्तार भएपछि सर्वसाधारणलाई सहज हुने भएको छ । 

भिडियो एक्स-रे सेवाका लागि नगरपालिकाको केन्द्र दुलेगौँडा बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताउनुभयो । अस्पतालले गर्भवती सेवा, खोप सेवा, गर्भपतन सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा प्रदान गर्दै आइरहेको छ । गत फागुनदेखि अस्पतालले इसिजी सेवा सुरु गरेको छ । मेडिकल अधिकृत डा.क्षेत्रीका अनुसार अस्पतालमा सेवा थप गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “नगरस्तरीय अस्पतालबाट सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्न लागि परेका छौँ ।”

समुदायस्तरबाट सञ्चालित उक्त अस्पताल वि.सं.२०७५ भदौमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसयता नगरपालिकाको स्वामित्वमा अस्पताल सञ्चालनमा छ । वि.सं.२०७४ साल असोज २७ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त अस्पताललाई सरकार मातहतमा ल्याउने निर्णय गरेको थियो । अस्पतालको स्वामित्वमा आठ रोपनी १२ आना जग्गा, दुई वटा भवन छ । उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा बिरुवा गाउँपालिकाका सर्वसाधारणलाई सेवा दिँदै आएको छ । रासस