• १३ साउन २०८१, आइतबार

बाख्रापालनबाट मनग्गे आम्दानी

blog

सिराज खान 

नेपालगन्ज, वैशाख ३१ गते । इच्छाशक्ति र केही गरेर देखाउने सोच भए गाउँघरमै बसेर राम्रो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ, बाँकेको राप्ती सोनारी गाउँपालिका–७ की सीता दमाईंले । उहाँले घरमै बाख्रापालन गरेर अहिले वार्षिक तीन लाख रुपियाँ चोखो आम्दानी गरिरहनुभएको छ । 

राप्ती सोनारी गाउँपालिका–७, निबुवाटार बस्ने दमाईंले दुई बाख्राबाट सुरु गर्नुभएको व्यावसायबाट अहिले खोर नै भरिभराउ छ । सिलाइकटाइबाट जीवनयापन गर्दै आएको दमाईं परिवारले एउटा बाख्रो र पाठी उपहार पाएपछि सुरु गरेको व्यावसायबाट अहिले ३० वटा खसी बाख्रा उहाँको खोरमा छन् । 

वर्षमा बाख्राको जति कारोबार गरे पनि खोरमा सधैँ ३० भन्दा बढीकै सङ्ख्यामा बाख्रा हुने गरेको सीता दमाईंले बताउनुभयो । जिल्ला सदरमुकामबाट एक घण्टा मात्रै टाढा रहेको निबुवाटारमा उहाँले तीन/चार महिनाको अन्तरालमा दुई/तीन खसी बिक्री गर्दै आउनुभएको छ । 

दमाईंले भन्नुभयो, “मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालेँ तर सफलता भने कतैबाट हात लागेन तर बाख्रा व्यवसायले मनग्गे आम्दानी दिँदै आएको छ । अहिले पनि तीन/चार महिनाको अन्तरालमा दुई/तीन वटा खसी बिक्री हुने गरेको छ । त्यो अनुसारको उत्पादन पनि भइरहन्छ ।” 

दसैँ र बकर इदको समयमा धेरै खसी बाख्रा बिक्री हुने गरेको जनाउँदै उहाँले त्यो बेला त जति भए पनि कम नै पर्ने गरेको बताउनुभयो । सोही कारणले चाडपर्वको समयका लागि धेरै खसीबाख्रा तयार राख्ने गरेको दमाईंको भनाइ छ ।  

अहिले दमाईं परिवारलाई खसीबोका तथा बाख्रा बिक्रीका लागि बाहिर जानु पर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर घरमै पुग्ने गरेको उहाँले बताउनुभयो । 

परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउँदै उहाँले राज्यबाट अनुदान, पशु औषधी जस्ता कुराहरू केही नपाएको गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्नेमा कामै नगर्नेलाई लाखौँ, करोडौँ रुपियाँ अनुदान दिने गरेको सुनेको छु, हामी जस्ता कृषकलाई सामान्य औषधी पनि दिँदैन ।” पहिलेको आम्दानीबाट घरखर्च मात्रै पुग्ने गरेकोमा बाख्रापालन सुरु गरेपछि केही समययता  बचत पनि भइरहेको सीता दमाईंको भनाइ छ ।