• १० मंसिर २०८१, सोमबार

'घुस्सा' र 'राराको डिलमा' लोकार्पण

blog

कृति सार्वजनिक कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, वैशाख ३० गते । पाल्पामा दुई वटा कृति लोकार्पण गरिएको छ । साहित्यकार रामप्रसाद अर्यालद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध ‘घुस्सा’ र प्रा.डा. कपिल लामिछानेद्वारा लिखित निबन्ध सङ्ग्रह ‘राराको डिलमा’ लोकार्पण गरिएको हो । 

पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार एक कार्यक्रमका बिच दुई कृति लोकार्पण गर्नुभएको हो । कृति लोकार्पण कार्यक्रममा बोल्नुहुँदै ज्ञवाली साहित्य सिर्जनाले सत्यलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । केही साहित्यकार तथा स्रष्टाहरूले नकारात्मक सन्देश मात्र दिने गरी सिर्जना पस्केको भन्दै उहाँले समाजमा भएका राम्रा कामको पनि साहित्यले समेट्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, "सुन्दर सिर्जनाका नाममा समाजलाई आत्महत्यातर्फ लैजाने काम साहित्य सिर्जना गर्न नहुने भन्दै उहाँले मानिसलाई बाँच्न, सङ्घर्ष गर्न सिकाउने साहित्यको खाँचो छ ।" उहाँले साहित्य सिर्जनाले कालो बादलभित्र चाँदीको घेराजस्तो सकारात्मक पक्ष पस्कन सक्नुपर्छ भन्नुभयो । 

कार्यक्रममा साहित्यकार एवम् ‘राराको डिलमा’ निवन्ध सङ्ग्रहका समीक्षक रुद्र ज्ञवालीले राजनीति, भूगोल, विकास निर्माणका पक्षलाई समेटेर लामिछानले १९ वटा नियात्रा लेखेको बताउनुभयो । समीक्षक ज्ञवालीले लामिछानेका नियात्रा सङ्ग्रहबाट स्वदेश तथा विदेशमा घुम्न नजाने पाठकका लागि आफैँ घुमेको अनुभूति दिने उल्लेख गर्नुभयो । 

यस्तै ‘घुस्सा’ निबन्धमा समीक्षा गर्नुभएका साहित्यकार डा. टङ्क पन्थले कृतिले समाजमा भएका राजनैतिक, सामाजिक, आर्थिक विकृतिमाथि शालीन रुपमा प्रहार गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, पाल्पा साहित्य समाजका अध्यक्ष पुस्करराज रेग्मी, वरिष्ठ पत्रकार मेघराज शर्मा, सोमनाथ अर्याल, राजेशकुमार अर्याललगायतले लेखकले निरन्तर रुपमा कलम चलाउनुपर्नेमा जोड दिनुभएको थियो ।