• १३ साउन २०८१, आइतबार

सबस्टेसन सञ्चालनमा

blog

काठमाडौं, वैशाख ३० गते । चितवनको भरतपुर महानगरपालिका–६  देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ । 

गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे नौ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगन्ज, प्रेम बस्ती, शवनगर, फूलबारी, गीतानगर, पटिहानी, सीतामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने प्राधिकरणले जनाएको छ ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र विश्व बैङ्कको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो ।