• १३ मंसिर २०८१, बिहिबार

पाल्पामा उपमेयर्स फोरम गठन

blog

बिन्दु थापा
तानसेन, वैशाख २९ गते ।
 पाल्पा जिल्लाका १० स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरूको सम्मिलित उपमेयर्स फोरम  पाल्पा गठन गरिएको छ । शुक्रबार तानसेन नगरपालिकामा भएको न्यायिक समितिको प्रथम जिल्ला सम्मेलनले तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिंजालीको संयोजकत्वमा १० सदस्यीय फोरम गठन गरेको हो ।

फोरमको उपाध्यक्षमा बगनासकाली गाउँपालिकाका हरिप्रसाद पाठक,सदस्यहरूमा बालकुमारी थापा रामपुर नगरपालिका, लाल बहादुर थापा तिनाउ गाउँपालिका, तिरण कुमारी श्रेष्ठ निस्दी गाउँपालिका, राधा कुमारी श्रेष्ठ रम्भा गाउँपालिका, विष्णुमाया लुङ्चे माथागढी गाउँपालिका, कान्ता अधिकारी रिब्दीकोट गाउँपालिका, भागीरथी शर्मा भट्टराई पूर्वखोला गाउँपालिका र युवराज थापा रैनादेवी छहरा गाउँपालिका रहेका छन् ।

‘‘कानुनतः निर्वाह गर्नुपर्ने भूमिकाहरूमा पाल्पा जिल्लाका स्थानीय तहहरूमा एकरूपता, आपसी समन्वय र सिकाई आदानप्रदानको संयन्त्र निर्माण गरी एकआपसमा उपप्रमुख/उपाध्यक्षलाई परेका समस्या तथा अप्ठ्याराहरूलाई कम गर्नका लागि खुल्ला प्रकृतिको साझा फोरम निर्माण गरिएको’’ नवगठित फोरमकी संयोजक सिंजालीले बताउनुभयो ।

‘‘उपप्रमुख तथा उपाध्यक्षहरूले नेतृत्व गरेका विषयगत समितिका भूमिकाहरूमा जिल्ला भरीका स्थानीय तहहरूमा एकरूपता ल्याउनका लागि यो फोरम प्रभावकारी हुने’’ सिंजालीको तर्क छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले यस्ता खालका फोरमले आपसी सिकाई आदानप्रदान र रचनात्मक कार्यमा फलदायी हुने बताउनुभयो ।

उहाँले उपमेयर्स फोरमले कार्यविधि नै बनाएर आफ्ना गतिविधि अगाडि बढाउन समेत सुझाव दिनुभयो । यसका लागि आफ्नो पूर्ण साथ सहयोग र समर्थन रहने समेत बताउनुभयो ।

जिल्ला भरीका न्यायिक समितिका संयोजक तथा सदस्यहरू समेत सहभागी सम्मेलनमा तीन छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरी त्यसमा छलफल गरिएको थियो । पाल्पा जिल्ला अदालतका अधिकृत राम प्रसाद पोखरेलले न्यायिक समितिका क्षेत्राधिकारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

न्यायिक समिति सूचना व्यवस्थापन प्रणाली विकास लगायतका क्षेत्रमा कार्य गरिरहेको रिनोवेसन नेपालका कार्यकारी निर्देशक राम बाबु नेपालले न्यायिक समितिको कार्यप्रक्रिया, अभिलेखिकण र कार्यान्वयन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।