• ४ माघ २०८१, शुक्रबार

युवालाई प्रोत्साहन गर्न ‘यूथ कार्निभल’

blog

विजयकुमार साह 

ढल्केबर, वैशाख २९ गते । क्षमतावान् युवालाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘यूथ कार्निभल’ हुन लागेको छ । ‘एमएम डिजिटल ग्राज’को आयोजनामा अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य सङ्घको हलमा यो कार्यक्रम हुन लागेको हो । 

शनिबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्थाका प्रतिनिधि गौतम शर्माले दुई दिवसीय कार्यक्रममा चार वटा विमर्शको सत्र राखिएको बताउनुभयो । उहाँका अनुसार ‘व्यापार : हिजो, आज र भोली’, ‘व्यवस्था नयाँ, शिक्षा पुरानै’, ‘वित्तीय साक्षरता आजको आवश्यकता’ र ‘एक मात्र पृथ्वी’ विषयमा विज्ञ तथा नव सिकारु युवाहरूलाई राखेर छलफल गराइने छन् । 

त्यस्तै, ‘डिजिटल मार्केटिङ र कन्टेन क्रिएटर’ विषयमा प्रशिक्षण पनि राखिएको आयोजक संस्थाका प्रतिनिधि सञ्जय चौधरीले बताउनुभयो । कला, संस्कृति, व्यापार र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि २५ वटा स्टल पनि राखिने उहाँले जानकारी दिनुभयो । "यी स्टलमा युवा व्यवसायी र स्थानीय मौलिक उत्पादनकर्ताहरूको सहभागिता रहनेछन्," उहाँले भन्नुभयो, "उहाँहरूको व्यक्तित्व विकाससँगै हामीले राम्रो व्यापार गर्नको लागि नेटवर्किङ बनाइदिने काम पनि गर्ने छौँ ।"

सांस्कृतिक कार्यक्रम र मोटिभेसनल स्पीच पनि राखिएको आयोजक संस्थाकै अर्का प्रतिनिधि प्रियांसु कर्णले बताउनुभयो । दोस्रो दिन चर्चित कमेडियन आदर्श मिश्रा पनि आउने तालिकामा रहेको छ । क्षमतावान् युवाहरूलाई एक ठाउँमा ल्याएर जोड्ने प्रयास गरिएको उहाँको भनाइ छ । यस कार्यक्रममा प्रत्यक्ष रुपमा दुई हजारभन्दा बढी युवा जोडिएर क्षमता अभिवृद्धि गर्ने आयोजकले विश्वास गरेको छ ।