• ८ जेठ २०८१, मङ्गलबार

सडक क्षेत्रमा राखिएका विज्ञापन बोर्ड हटाउन निर्देशन

blog

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको देउखुरीमा रहेको सडकखण्ड । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, वैशाख २८ गते ।
सडक डिभिजन कार्यालय दाङले सडक सीमाक्षेत्रभित्र राखिएका विज्ञापन बोर्डहरु १५ दिनभित्रमा हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले  वैशाखको २४ गते सार्वजनिक सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्मको सडकखण्डमा पर्ने विज्ञापन बोर्डहरु हटाउन निर्देशन दिएको हो ।

सडक सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण रहेको र दुर्घटाउन समेत बनाउने गरेकाले जेठको ८ गतेभित्र सम्बन्धित निकायहरुलाई विज्ञापन बोर्ड हटाउन निर्देशन गरेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख इन्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

नेपाल सरकारबाट जारी भएको सार्वजनिक सडक ऐन, २०३१ को दफा (३) ले दिएको अधिकार अनुसार कार्यालयले राजमार्गको सीमा केन्द्र रेखादेखि दाँयाबाँया दुवैतिर २५/२५ मिटर गरी ५० मिटर सडक सीमा २०३४ सालमै काम गरेको थियो । जसअन्तर्गत उक्त क्षेत्रमा कार्यालयसँग स्वीकृति नलिई कुनै प्रकारका बोर्डहरु राख्न नपाइने कानुनी व्यवस्था रहे पनि पछिल्लो समय सडकका दाँयाबाँया सडक क्षेत्रमै पर्ने गरि कार्यालयसँग स्वीकृति नलिएर विज्ञापन बोर्डहरु राख्ने काम गरिएकाले हटाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

डिभिजन प्रमुख घिमिरेले भन्नुभयो, ‘‘सडकको सिमाक्षेत्रभित्र कार्यालयको अनुमति नलिएर कुनै प्रकारका विज्ञापन बोर्डहरु राख्न मिल्दैन । तर पछिल्लो जिल्लाका विभिन्न लामो तथा छोटो दूरीका सडकहरुमा नियम विपरित विज्ञापन बोर्डहरु राखिएपछि कार्यालय नियम विपरीत राखिएका बोर्डहरु हटाउने निष्कर्षमा पुगेको हो ।’

प्रमुख अधिकारीले सडक खण्डमा कार्यालयसँग समन्वय नै नगरेर सडकको क्षेत्राधिकारभित्र राखिएका विविध प्रकारका विज्ञापन बोर्डहरु सुरक्षाका दृष्टिले जोखिमयुक्त रहेका र आवागमनका बाधा पुर्‍याउने देखिएकाले ती बोर्डहरु सार्वजनिक सडक ऐन २०३१ को दफा १८ को उपदफा १ बमोजिम हटाउन सम्वन्धी निकायलाई निर्देशन गरिएको बताउनुभएको छ ।

नियम विपरित राखिएका बोर्डहरु हटाई हडक सुरक्षा अभिवृद्धिमा सहयोग गर्न आग्रह गर्दै डिभिजन प्रमुख घिमिरेले अवज्ञा गरेको खण्डमा सार्वजनिक सडक ऐन अनुसार २०३१ अनुसार कारवाही गर्ने चेतावनी दिनुभएको छ । अटेर गरेर कार्यालयले आफै उक्त बोर्डहरु हटाउने उक्त बोर्डहरु हटाउँदा लागेको खर्च सम्वन्धीत पक्षसँगै असुल गर्ने तयारी गरेको डिभिजन प्रमुख घिमिरेले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘सकेसम्म आफ्ना विज्ञापन बाेर्डहरु आफैं हटाउनुहोस् भन्ने हाम्रो चाहना हो । त्यही अनुसार  सार्वजनिक सूचना प्रकाशित गरेका छौं तर अवज्ञा गरेको खण्डमा प्रचलित कानुन अनुसार कारवाही गर्नेछौं ।’’

डिभिजन प्रमुख घिमिरेका अनुसार पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्मको सडकखण्डमा पर्ने विज्ञापन बोर्डहरु हटाउन निर्देशन जारी गरिएको भन्दै यो काम सकिएपछि जिल्लाको घोराही–लमही, अमिलिया–तुलसीपुर, घोराही–तुलसीपुरलगायतका सडकहरुमा नियम विपरीत राखिएका विज्ञापन बोर्डहरु हटाउने तयारीमा जुटेको बताउनुभयो । सडकको दाँया र बाँया विद्यालय, होटेललगायतका विभिन्न विज्ञापन बोर्ड राखिएकाे छ ।