• ८ जेठ २०८१, मङ्गलबार

बकैया गाउँपालिकाभित्र उत्पादित दुध १० वर्षसम्म खरिद गर्ने सम्झौता

blog

बकैया गाउँपालिका कार्यालय र भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित शिवपुरी फ्रेसडे डेरी उद्योगबिच दुध खरिदसम्बन्धी सम्झौता गरिँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख २८ गते ।
मकवानपुरको बकैया गाउँपालिकाका क्षेत्रका दुध उत्पादक किसानले उत्पादन गरेको दुध १० वर्षसम्म खरिद गर्ने गरी सम्झौता भएको छ ।

बकैया गाउँपालिका कार्यालय र भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटीस्थित शिवपुरी फ्रेसडे डेरी उद्योगबिच बकैया गाउँपालिकामा उत्पादित दुध खरिदसम्बन्धी १० वर्षे सम्झौता गरिएको हो ।

कच्चा दुध खरिद बिक्रीसम्बन्धी सम्झौतामा दुधको मूल्य, गुणस्तर र उपलब्ध गराउनुपर्ने परिणामका बारेमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष धर्मराज लामिछाने र उद्योगका तर्फबाट विश्वराम खड्काद्वारा हस्ताक्षरित सम्झौता पत्रमा पालिकाले उद्योगलाई दैनिक सात हजार लिटर दुध उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

दुधको ढुवानी उद्योगले बकैया गाउँपालिका ७ स्थित दुध चिस्यान केन्द्रबाट गर्नुपर्ने गरी सम्झौता गरिएको छ । बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेले दुध खरिद बिक्रीसम्बन्धी सम्झौता पालिका क्षेत्रमा व्यावसायिक रुपमा दुध उत्पादनका लागि महत्त्वपूर्ण निर्णयभएको बताउनुभयो ।

उहाँले पालिकालाई कृषिको हबको रुपमा विकास गर्ने योजना रहेको बताउँदै सम्झौताले पशुपालक किसानको आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले दुध चिस्यान केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि बनाएर सम्झौता कार्यान्वयन गरिने बताउँदै आगामी जेठ १ गतेबाट उद्योगलाई सम्झौता अनुसार दुध बिक्री गरिने बताउनुभयो ।

यस्तै पालिका र पालिकाभित्रका दुध उत्पादक सहकारीबिच पालिकाद्वारा सञ्चालित दुध चिस्यान केन्द्रलाई दुध बिक्री गर्ने सम्झौतासमेत भएको छ ।