• ९ जेठ २०८१, बुधबार

स्वास्थ्य संस्था वर्षभरि खुल्ने प्रबन्ध मिलाएका छौँ

blog

खिमबहादुर रावत अध्यक्ष, त्रिवेणी गाउँपालिका, सल्यान

सल्यान जिल्लाको साबिकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गरी चार गाविस मिलाएर त्रिवेणी गाउँपालिका बनाइएको हो । शारदाखोला, लुहामखोला र घुरखोलाको सङ्गमस्थल भएकाले नै यसको नाउँ त्रिवेणी गाउँपालिका रहन गएको हो । त्रिवेणी गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट खिमबहादुर रावत अध्यक्षमा निर्वाचित हुनुभएको छ । समग्र पालिकाको विकासमा केन्द्रित भएर गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानीको सारसङ्क्षेप : 

यो गाउँपालिकाका अवसर र सम्भावना के के  देख्नुभएको छ ? 

त्रिवेणी गाउँपालिकामा थुप्रै अवसर र सम्भावना छन् । यहाँ प्रशस्त कृषियोग्य जमिन तथा सिञ्चित क्षेत्र रहेको हुँदा मौसमी तथा बेमौसमी बाली उत्पादन हुने गर्छ । फलफूलमा  सुन्तला प्रशस्तै उत्पादन हुन्छ । पछिल्लो समय किवी खेतीतर्फ पनि आकर्षण बढिरहेको छ । त्यसै गरी पशुपालनमा विशेष गरी बाख्रापालन, कुखुरापालन, भैँसीपालन व्यवसाय निकै फस्टाएको छ । दुध उत्पादनतर्फ पनि किसानको आकर्षण बढिरहेको छ । जिल्लाको प्रसिद्ध शारदा नदीले यहाँका अधिकांश क्षेत्र पार गर्ने हुँदा माछापालनमा मानिसको आकर्षण बढ्दो छ । पौराणिक तथा ऐतिहासिक विशेषता बोकेको फलाबाङ दरबार, त्रिवेणी तीर्थशाला धाम यहाँका मुख्य पर्यटकीय क्षेत्र हुन् । यातायात पूर्वाधारको विस्तारसँगै बढिरहेको व्यावसायिक खेतीपाती, पशुपालनलगायतले स्थानीय अर्थतन्त्र चलायमान भएको छ । 

यहाँको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गरिरहनुभएको छ ?

मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबिच समन्वय तथा सहकार्य आवश्यक पर्छ । अझ भन्ने हो भने स्थानीय तहको विकासका लागि सङ्घीय तथा प्रदेश सरकारबिच समन्वय हुन अति जरुरी छ । त्रिवेणी गाउँपालिकाले निर्माण गर्ने विभिन्न नीति, कानुन, योजना निर्माणका सन्दर्भमा होस् या पालिकाको समग्र विकासका लागि आवश्यक पर्ने बजेट प्राप्तिका क्षेत्रमा; सङ्घीय तथा प्रदेश सरकारबाट सहयोग प्राप्त भइरहेको छ । सहयोग अपेक्षाकृत रूपमा भने हुन सकेको छैन । पालिकाको आन्तरिक स्रोत न्यून भएकाले स्थानीय तहका ससाना विकास निर्माण योजनादेखि पालिकाको गौरवका योजना कार्यान्वयनका लागि सङ्घीय सरकारमा भर पर्नुपर्ने हुन्छ तर वर्षको अन्तिममा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको कटौतीले पालिकाको विकास निर्माणमा थुप्रै व्यवधान उत्पन्न भएका छन्  । यसतर्फ सङ्घीय सरकारले विशेष ध्यान दिन आवश्यक छ । 

समृद्ध पालिकाका लागि अबको बाँकी अवधिमा के के गर्ने योजना बनाउनुभएको छ ?

त्रिवेणी गाउँपालिकाको समग्र विकास तथा समृद्धिका लागि अबको चार वर्षमा नयाँ सडकको ट्र्याक खोल्ने कामलाई प्राथमिकतामा राखेर काम गर्ने छु । सबै वडामा बाह्रै महिना यातायात आवागमन हुने गरी सडकको स्तरवृद्धि गर्ने, पूर्ण विद्युतीकरणका लागि काम गर्ने योजना बनाएको छु । त्रिवेणी गाउँपालिका विशेष गरी कृषि क्षेत्रको हिसाबले अन्नको भण्डार भएको हुँदा उत्पादनमा बढोत्तरीका लागि किसानलाई सहुलियत दरमा मल, बिउ, कृषि औजार, उपकरण उपलब्ध गराउने तथा अर्गानिक तरकारी तथा फलफूलतर्फ विशेष गरी सुन्तला, कागती, अनार, किवी, टिमुरको उत्पादन वृद्धि गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई विस्तार गर्दै लैजाने विचार गरेको छु । 

पशुपालनका लागि प्रशस्त चरीचरनको क्षेत्र भएको हुँदा बाख्रापालन व्यवसाय विस्तार गराउने, कुखुरापालन, दुध उत्पादन, माछापालन, मौरीपालनलगायतका व्यवसायलाई उत्पादनमा आधारित अनुदान कार्यक्रममा जोड्दै स्थानीय उत्पादन प्रवर्धन गरी जीवनस्तर सुधार गर्ने योजना बनाएको छु । त्यसै गरी उद्यमशीलता विकास गर्न उद्यमी पहिचान गरी तिनको समन्वयमा लघु तथा घरेलु उद्योग स्थापना तथा विकास गरी रोजगारी प्रदान गर्नेतर्फ मैले ध्यान दिने छु । शिक्षा तथा स्वास्थ्य सेवा निःशुल्क, भरपर्दो तथा गुणस्तरीय बनाउन भौतिक पूर्वाधार विकास, साङ्गठनिक सुदृढीकरण तथा कर्मचारीमा नैतिकता, सदाचारिता तथा सेवाभाव विकास गराउन उत्प्रेरणा, प्रोत्साहनलगायतका कार्य सम्पन्न गर्ने योजना बनाएको छु । 

विकास निर्माणका काम र सेवाप्रवाह कत्तिको प्रभावकारी भएको छ ?

यहाँका बासिन्दाले बोल्दा सुनिने, हेर्दा देखिने, हात फैलाउँदा छोइने सरकार स्थानीय सरकार भएको हुँदा स्थानीय सरकारले स्थानीय तहको विकास तथा समृद्धिका लागि थुप्रै विकास तथा सेवा प्रवाहमूलक कार्य गर्नुपर्ने हुन्छ । आवधिक योजना, मध्यकालीन खर्च संरचना, शिक्षा नीति, स्वास्थ्य नीतिलगायतका विभिन्न कानुन तथा नीति निर्माण गरिएका छन् । संविधानले व्यवस्था गरेकै समयमा नीति तथा कार्यक्रम ल्याउने तथा कार्यान्वयनका लागि निर्धारित समयमा अख्तियारी प्रदान गर्ने कार्य गरिएको छ । योजना तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा आइपरेका विभिन्न बाधा व्यवधान निवारण गर्न निर्णय गरिएको छ । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबिच कार्यसम्पादन सम्झौता गरिएको छ भने कर्मचारीको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको व्यवस्था गरिएको छ । कर्मचारीलाई आमनागरिकको सेवाप्रति बफादार एवं कर्तव्यनिष्ठ बनाउन विभिन्न उत्प्रेरणा तथा प्रोत्साहनको व्यवस्था गरिएको छ । यसले गर्दा त्रिवेणी गाउँपालिकाको विकास निर्माण तथा सेवा प्रवाह चुस्त ढङ्गले अगाडि बढाउन सहज भएको छ । 

यहाँ निर्वाचित भएर आएपछि स्थानीय तहलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

त्रिवेणी गाउँपालिकाले विभिन्न नमुनायोग्य काम गरिरहेको छ । जिल्लामै उत्कृष्ट एवं अनुकरणीय कार्यका रूपमा हामीले बाख्रापालन व्यवसायलाई लिएका छौंँ । यसमा स्थानीय तहले प्रतिजिउँदो खसी तथा बोकामा २० रुपियाँ अनुदान उपलब्ध गराउने गरेको छ । स्थानीय पशु प्राविधिक र सहकारीको समन्वयमा किसानका खसीबोकाको वास्तविक तौलका आधारमा किसानलाई अनुदान दिइँदै आएको छ । गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने त्रिवेणी गाउँपालिकाका किसानले खसीबोका बिक्रीमार्फत वार्षिक दुई करोड १३ लाख रुपियाँ बराबरको आम्दानी प्राप्त गरेका छन् । पछिल्लो समयमा किसान व्यावसायिक बन्दै गएका छन् । त्यसै गरी हामीले कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका छौँ । त्रिवेणी गाउँपालिकाका सबै विद्यालयका लागि आवश्यक दिवा खाजा स्थानीयस्तरमा उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएका छौँ । सबै स्वास्थ्य संस्था वर्षभरि खुला हुने प्रबन्ध गरेका छौँ । 

अहिलेसम्म के कस्ता चुनौती भोग्नुभयो ?

नागरिकका विभिन्न माग सम्बोधन गर्नु नै मूल चुनौतीका रूपमा मैले ग्रहण गरेको छु । हाम्रो आन्तरिक स्रोत न्यून हुँदा सम्पूर्ण स्रोत प्राप्तिका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारमा भर पर्नुपर्ने अवस्था छ । समानीकरण, राजस्व बाँडफाँट, समपूरक तथा विशेष अनुदानबाट मात्र प्राप्त रकमले विकासका प्राथमिकता तथा आवश्यकतालाई सम्बोधन गर्न कठिन छ । सामुदायिक विद्यालयको शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि गर्न अनवरत रूपमा लागिपरिरहेको हुँदा विद्यालयको भौतिक पूर्वाधार निर्माण, दरबन्दी व्यवस्थापनलगायतका सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने विषय चुनौतीमा रूपमा देखिएका छन् । 

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ? 

स्थानीय तहको विकास निर्माणको कार्यमा स्थानीय जनसहभागिता उल्लेखनीय रूपमा रहेको पाइएको छ । हामीले योजना तथा कार्यक्रम छनोट गर्दादेखि नै टोल विकास समितिहरूसँगको समन्वय तथा सहकार्यमा बस्ती बस्तीमा पुगी योजना छनोट गराउँछौँ । नागरिकले योजना तथा कार्यक्रममा अपनत्व प्राप्त गरेका छन् । यसबाट विकास निर्माणका योजना तथा कार्यक्रम कार्यान्वयनमा स्थानीय सहभागिता उल्लेखनीय हुने गरेको छ । सङ्घीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको भूमिका कस्तो हुनु पर्छ ?

सङ्घीयता कार्यान्वयनको सबैभन्दा तल्लो निकाय भनेको स्थानीय तह हो । अर्को शब्दमा भन्नुपर्दा सङ्घीयता कार्यान्वयनको मुख्य जरो नै हो स्थानीय तह । नागरिकको प्रत्यक्ष सम्पर्क, समन्वय र सहभागिता रहने स्थानीय तहमै हो । त्यसैले संविधानतः नागरिकका आधारभूत आवश्यकता परिपूर्तिको व्यवस्था पनि स्थानीय तहकै भूमिकामा पर्छ ।