काठमाडौं, बैशाख ९ गते । देशको सङ्घीय प्रशासनिक केन्द्र रहेको सिंहदबारभित्रै बन्दै गरेको सङ्घीय संसद्को नयाँ भवनको निर्माण कार्य भने ज्यादै सुस्त छ । जहाँ प्रधानमन्त्रीदेखि मन्त्रीसम्म र मुख्य सचिवदेखि प्रायः सबै उच्च अधिकारी रहेको सिंहदरबार परिसरभित्रै बन्दै गरेको भवनको निर्माण त समयमै हुन सकेको छैन भने दुर्गम ठाउँमा निर्माणकार्यको अवस्था कस्तो होला ?
समयमै भवन निर्माण नहुँदा राज्यको वार्षिक १५ करोड रुपियाँ भाडा तिर्दैमा सकिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेयका अनुसार, २०६५ सालदेखि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको वार्षिक १५ करोड रुपियाँ भाडा तिर्नुपर्दछ ।
सिंहदरबारभित्र रहेको सङ्घीय संसद् भवनको सिट भवन कक्षा कोठाजस्तै ढाँचामा (क्लासरुम मोडल) मा निर्माण भएको थियो । जहाँ अगाडि सभामुखको रोस्टम, सत्ता पक्ष र प्रतिपक्षको क्रमशः कोलमहरू रहने व्ववस्था थियो ।
हाल पनि त्यही व्यवस्था अनुसार नै सङ्घीय संसद् भवन रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल बताउनुहुन्छ । निर्माणाधीन सङ्घीय संसद् भवन पनि यही ढाँचामै नै बन्ने क्रममा छ ।
अन्य देशमा कतै गोलाकार आकारमा त कतै बक्राकार आकारमा सभाहरु बस्ने गरिएको फुयालको भनाइ छ । तर, नेपालको अवस्थामा भने क्लासरुम मोडेलकै प्रणाली अवलम्बन गरिएको छ । हाल निर्माणाधीन सङ्घीय संसद् भवन पनि यही ढाँचामा निर्माण गरिँदैछ ।
निर्माणाधीन सङ्घीय संसद् भवनको हालसम्म ४२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । विशेष भवन निर्माण आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठका अनुसार निर्माण कार्य सुरु भएको दुई वर्ष बिते पनि हालसम्म ४२ प्रतिशत काम सम्पन्न भएको छ ।
श्रेष्ठका अनुसार संसद् भवनको निर्माण अवधि २०८० वैशाखसम्म भए पनि कामको प्रकृति हेर्दा सुस्त भएका कारण निर्माण कम्पनीेले निर्धारित समयमै सक्न कठिन भएको उहाँको भनाइ छ ।
हाल राष्ट्र बैँकले आयातमा कडाइ गरेको र पतितपत्र खोल्दा अनिवार्य सतप्रतिशत मार्जिन राख्नुपर्ने भएका कारण निर्माण कम्पनीले काममा ढिलाइ गरेको श्रेष्ठ बताउनुहुन्छ ।
यस्तो बन्दैछ संसद् भवन
कुल १५१ रोपनीमा निर्माणाधीन सङ्घीय संसद् भवन पाँच तले बन्नेछ । माथिल्लो सदन (राष्ट्रिय सभा), तल्लो सदन (प्रतिनिधि सभा), संसद् सचिवालय, राजनीतिक दलहरूका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र सभा कक्ष तथा करिब तीन सयजना क्षमताको सुरक्षाकर्मी भवन छुट्टाछुट्टै निर्माण गरिनेछ ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार, संसद् सचिवालयका दु्ईवटा भवन पनि रहनेछन् । जहाँ क्यान्टिन, छपाइसम्बन्धी प्रेस रहनेछन् । सेक्युरिटि बिल्डिङ्, अण्डरग्राउण्ड पार्किङ् पनि रहनेछ । अण्डरग्राउण्ड पार्किङमा करिब ७०० गाडी अट्ने श्रेष्ठ बताउनुहुन्छ ।
राष्ट्रिय सभा र प्रतिनिधि सभामा अडियो भिडियो सिस्टम, भिडियो कन्फेरेन्स सिस्टम पनि रहनेछ । भित्र प्रवेशका लागि चारवटा प्रदेशद्वार राखिनेछ । उत्तरबाट सांसदहरुलाई प्रवेशका लागि प्रवेशद्वार रहनेछ भने पूर्वबाट कर्मचारीका लागि छुट्टै प्रवेशद्वार रहनेछ ।
राष्ट्रिय सभा र प्रतिनिधि सभा दुइतर्फ जानका लागि बीचमा सबैभन्दा अग्लोे संरचना लबी रहनेछ । जहाँ ४०० जना बस्न मिल्ने क्षमताको कक्ष रहनेछ । उक्त लबीबाट दायाँ गए राष्ट्रिय सभा पुगिनेछ भने बायाँ गए प्रतिनिधि सभा पुगिनेछ । २०० क्षमताको दुईओटा सुरक्षित हलहरु पनि रहने निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।
श्रेष्ठका अनुसार, सङ्घीय संसद् भवनमा तीनतले स्मार्ट पार्किङस्थलसमेत निर्माण गरिनेछ । त्यसैगरी, राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाबाट हुने विशेष सम्बोधनका लागि दुवै संसद्का सदस्यहरू र विशिष्ट पाहुनाहरूसमेत अटाउने एक हजार क्षमताको विशेष सभाहल पनि निर्माण गरिनेछ ।
दिगो विकास लगायतका १७ वटा समितिका लागि छ्ट्टा–छुट्टै कार्यालय र कक्ष रहनेछन् । भवन निर्माणको ठेक्का टुन्डिल जेभी कम्पनीले पाएको छ ।
संसद् भवनको व्यथा
‘सिंहदरबारभित्रको २०६५ सालअघिको २०५ सिट क्षमताको सङ्घीय संसद् । जसलाई ग्यालरी बैठक पनि भनिन्थ्यो । जहाँ २००४ सालमा भारदारी सभा बसेको थियो,’ राष्ट्रिय सभाका सचिव तथा संसदीय मामलाका जानकार राजेन्द्र फु्ँयाल भन्नुहुन्छ ‘पछि भारदारी सभाको सल्लाहाकार सभाको बैठक पनि त्यही बसेको थियो ।’
२०१५ साल र २०४८ सालको निर्वाचित संसद् पनि उक्त भवनमै बसेको थियो । पञ्चायतकालमा १०९ सदस्यीय र बहुदल आएपछि बनेको प्रतिनिधि सभाको २०५ सदस्यीय टोलीको सभा पनि उक्त भवनमै बसेको फुयालले बताउनुभयो ।
२०६३ सालमा संसद् पुनःस्थापना भएपछिकाे सभा पनि यहीँ बसेको थियो । पुनःस्थापित सङ्घीय संसदमा तत्कालीन विद्रोही नेकपा माओवादी थपिएपछि ३३० सदस्य भयो । त्यसबखत सिटहरु व्यवस्थापन गरी त्यही भवनमै सभा बसेको उहाँले बताउनुभयो ।
२०६४ साल चैत २८ गते संविधान सभाको पहिलो निर्वाचन भएपश्चात् ६०१ सदस्यीय संविधान सभाको पहिलो र ऐतिहासिक बैठक भने बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ जेठ १५ गते बस्यो । भाडामा लिएर सभा सञ्चालन हुँदै आएको पनि अहिले १४ वर्ष पुग्नै लागेको छ ।