• ७ जेठ २०८१, सोमबार

‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्दै मल्ल

blog

तस्बिर : विकास मल्लको फेसबुकबाट ।

काठमाडौँ, वैशाख २७ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विकास मल्लले एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यक्रमअनुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्न लाग्नुभएको छ । 

एएफसीसँगको सहकार्यमा माल्दिभ्स फुटबस सङ्घ (एफएएम)ले आयोजना गर्ने कोर्समा भाग लिन मल्ल बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रिय टोलीमा गोलकिपिङ प्रशिक्षकको भूमिकामा रहेर चार वर्ष काम गर्नुभएका मल्लले यसअघि नेपालमै ‘बी’ लाइसेन्स २०२१ मा कोर्स गर्नुभएको थियो । 

माल्दिभ्सको राजधानी मालेमा कोर्स दुई चरणमा गरेर सम्पन्न हुनेछ । जसअनुसार पहिलो चरणको कोर्स यही मे १२ देखि २३ सम्म हुनेछ भने दोस्रो चरण अगस्ट ४ देखि १५ सम्म हुनेछ । मल्लसँगै नेपाल पुलिस क्लबका पूर्व खेलाडी एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का ग्रासरुट प्रशिक्षक पंकज शाही पनि कोर्स गर्न माल्दिभ्स जानुभएको छ । 

नेपाली सेनाका सेनानी मल्लले २००५ मा नेपाली राष्ट्रिय फुटबल टोलीबाट ‘डेब्यु’ गर्नुभएको थियो । १० वर्षसम्म राष्ट्रिय टोलीलाई सेवा गर्ने क्रममा एन्फा एकेडेमीको पहिलो ब्याचका उत्पादन मल्लले २०१५ सम्ममा राष्ट्रिय टोलीबाट २९ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । 

सन् २०२१ मा माल्दिभ्समै भएको साफ च्याम्पियनसिपमा फाइनल पुग्दाका गोलकिपिङ प्रशिक्षक मल्ल त्यसको एक वर्षअघि नेपालमै भएको त्रिदेशीय कप जित्दा पनि टोलीमा त्यही भूमिकामा रहनुभएको थियो । नेपाली सेनाको पूर्ण साथ र सहयोगका कारण खेलाडी हुँदै प्रशिक्षकका रुपमा पनि करियर अगाडि बढाउन निक्कै अनुकुल वातावरण पाइरहेको मल्लले बताउनुभयो ।

‘‘नेपाली सेनाकै कारण आज म यो अवस्थामा छु । नेपालको समग्र खेलकुदमै नेपाली सेनाको ठूलो योगदान छ । फुटबलमा पनि सेनाको योगदान अतुलनीय छ । उहाँले भन्नुभयो, ‘‘प्राविधिक रुपमा देश भित्रै सक्षम जनशक्ति विकास भएपछि भविश्यमा बाहिरबाट खोज्नुनपर्ने विश्वास व्यक्त गर्दै उनले भने ।