काठमाडौँ, जेठ ७ गते । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले आफूहरूले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकपछि सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दिएको बताउनुभएको हो ।
उहाँले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिनुभयो भन्ने आफूले बुझ्न नसकेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत पाएपनि प्रतिपक्ष दलहरूको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मलाई व्यक्तिगत रूपमा भन्ने हो भने विश्वासको मत यति छिटो लिई हाल्नुपर्ने परिस्थिति थिएन प्रधानमन्त्रीलाई । किन लिनुभयो भन्नेकुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन । यद्यपि हामी सत्तापक्षकै हौँ । हामीले विश्वासको मत दियौँ पनि । एक सय ५७ मध्ये १० भोट हाम्रो पनि हो । हाम्रो तर्फबाट सरकार छोड्ने निर्णय नगरेको हुनाले पनि विश्वासको मत त दिनै प¥यो नि हाम्रै साथीहरू मन्त्री छन् । सरकारमा अर्को निर्णय नभएसम्म बस्छौँ ।’’
उहाँले भन्नुभयो, ‘‘आजको दृश्य राम्रो भएन । आज विश्वासको मत लिनेजस्तो महत्त्वपूर्ण कुरामा पनि अत्यन्त नमज्जाको खालको वातावरण भयो । प्रमुख प्रतिपक्ष दल लगायतका साथीहरूले विपक्षमा भोट पनि हालेनन् । एक खालको बहिष्कार जस्तो भयो । शान्त वातावरणमा विश्वासको मत लिने वातावरण बनेन ।’’
उहाँले प्रधानमन्त्रीले शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने धारणा पनि राख्नुभयो ।