• १४ मंसिर २०८१, शुक्रबार

सत्तापक्ष गठबन्धन सहकारीका ठगहरूलाई बचाउन लागेको कांग्रेसको आरोप

blog

काठमाडौँ, जेठ ७ गते । नेपाली कांग्रेसले नेपाल सरकार र सत्तापक्ष गठबन्धन सहकारीका केही ठगहरूलाई बचाउन संसदीय मूल्य, मान्यता र परम्परा कमजोर गर्न उद्धत भएको आरोप लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक पछि कांग्रेसले यस्तो आरोप लगाएको हो । 

बैठकपछि विभिन्न चार बुँदे निर्णय गर्दै नेपाली कांग्रेससहित सङ्घीय संसदमा रहेका सबै विपक्षी दलहरूले सहकारी ठगीमा संलग्न उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने समेतबारे स्वतन्त्र र निष्पक्ष छानबिनको सुनिश्चितता गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरी आइरहेको सर्वविदितै रहेको उल्लेख गरेको छ । नेपाल सरकार र सत्तापक्ष गठबन्धन सहकारीका केही ठगहरूलाई बचाउन संसदीय मूल्य, मान्यता र परम्परा कमजोर गर्न उद्धत भएको यो बैठक ठहर गर्दछ, कांग्रेसले भनेको छ । 

यस्तै निर्णयमा २०८१ साल जेठ ७ गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले पटक-पटक बोल्न समय माग गर्दा पनि बोल्न नदिने कार्य भएको, संसदमा बोल्न विपक्षीले प्राथमिकता र अवसर प्राप्त गर्ने संसदीय प्रचलन रहेको र “संसद् विपक्षको हुन्छ” भन्ने नेपाली संसदीय परम्पराको मान्यता र मर्यादा विपरीत सत्तापक्षले बहुमतको दम्भ देखाएको संसद्को दृश्यले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको पुनर्पुष्टि भएको उल्लेख गरिएको छ । नेपाली काग्रेस संसदीय दलको यो बैठक सरकारलाई लोकतन्त्रका मूल्य, मान्यता र संसदीय मर्यादाप्रति असंवेदनशील नहुन चेतावनी पनि दिएको छ । 

बैठकले नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीले विश्वासको मत लिन तीस दिनको समयावधि रहेकोमा विपक्षी दलहरूको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै बलमिच्याई गरी विश्वासको मत लिने कार्यले संसदमा विपक्षीलाई स्पेस नदिने र सरकार तानासाही प्रवृत्ति तर्फ उन्मुख भएको ठहर गरेको छ । 

प्रतिनिधि सभामा देखा परेको दृश्यले सम्माननीय सभामुखको भूमिका पदीय गरिमा अनुकूल नभएको पनि कांग्रेसले उल्लेख गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘‘सङ्घीय संसद्को सभामुख जस्तो गरिमामय पदमा आसीन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्य मान्यतालाई कुठाराघात गर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई संसदीय मूल्य, मान्यता र परम्परा जोगाउने तर्फ काम गर्न गम्भीर रूपले ध्यानाकर्षण गर्दछ ।’’