• ६ जेठ २०८१, आइतबार

पानी परेपछि किसानलाई राहत

blog

बाराको कलैयामा गरिएको तरकारी खेती । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशंङ्कर मिश्रा

बारा, वैशाख २५ गते। लामो समयपछि पानी परेपछि बाराका किसान खुसी भएका छन्।  सुक्दै गएको गहुँ, धान र अन्य बाली पानी परेपछि सप्रिने भन्दै किसान खुसी भएका हुन्। 

चैते धान खेतमा धाँजा फाटेर चिरा परेको तथा रोपाइँको कार्य जारी रहेकाले सबै भन्दा बढी किसानलाई राहत भएपछि उनीहरू खुसी भएका हुन्। 

मंगलबार दिउँसो ३ बजेदेखि झमझम परेको पानीले चैते धान र तरकारी बालीमा राहत महसुस गरिएको कलैया उपमहानगरपालिका–२ दोहरीका किसान प्रभुप्रसाद यादवले बताउनुभयो। जेठ, असार, साउन, भदौ महिनामा राम्ररी पानी नपर्दा हालका दिनसम्म सबै भन्दाबढी किसान मारमा परेका छन्। 

अहिले देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ। भारतमा न्यून चापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दैनिक बढ्दै गएको गर्मी र चुरे क्षेत्र व्यवस्थित नहुँदा विगत एक डेढ महिनादेखि पानीको सतह कम भएपछि मध्य तराईका जिल्लामा महिनौँदेखि अधिकांश ठाउँमा पानीको हाहाकार भएको छ, जिल्लाको उत्तरी क्षेत्रबाट आउने नदीहरू सुकेको, पोखरी र तलाउ सुकेपछि चापाकलबाट पानी आउन बन्द भएको प्रसौनी गाउँपालिका–३ नौतनका आसमहमद मियाँ धोबीले बताउनुभयो।

गर्मीको कारण चैत, वैशाख महिनामा बतास चल्न थालेपछि खेतबारीमा रहेको बाली सुक्न थालेपछि हामीलाई दैनिक कुनै रोग लागेको भनेर किसानबाट गुनासो आउने गरेको कृषि ज्ञान केन्द्र कलैया बाराका सूचना अधिकारी रामजीवन ठाकुरले बताउनुभयो।

कृषकहरूले आफैले विद्युतीय मोटरबाट सिँचाइ गरी हर्दिनाथ–१, चैते–१, चैते–२, चैते–४ जातको चैतेधान १६ हजार हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएको केन्द्रका निमित्त प्रमुख राजनारायण प्रसाद साहले बताउनुभयो।