• ६ जेठ २०८१, आइतबार

मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

blog

कोहलपुरस्थित मालपोत कार्यालय । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख २५ गते ।
बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जना बिचौलियालाई पक्राउ गरिएको छ ।

कोहलपुरको नापी र मालपोत कार्यालयमा बिचौलियाहरुको निकै चलखेल भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा गएको सुरक्षा निकायसहितको टोलीले नापी र मालपोत कार्यालयको अनुगमन गर्दा ६ जना बिचौलियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँले कार्यालयभित्र केही व्यक्तिहरुले सेवाग्राहीबाट रकम लिएर बिचौलियाको काम गरिरहेको सूचना प्राप्त भएपछि छड्के अनुगमन गरेर उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ परेकामध्ये तीन जना वकिल, एक जना कोहलपुर नगरपालिकाका करार कर्मचारी र दुई जना सेवाग्राही रहेको पाइएको प्रहरीले जनाएको छ । सेवाग्राहीलाई भने सामान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कोहलपुरस्थित नापी र मालपोतका बारेमा धेरै पटक विभिन्न गुनासा प्राप्त भएकोले छड्के गरिएको बताउनुभयो । उहाँले बिचौलिया पक्राउ परेपछि सर्वसाधारणका गुनासा सही रहेको पुष्टि भएको बताउनुभयो ।

बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा रहेको नापी, मालपोत र यातायात जस्ता कार्यालयहरुमा पनि बिचौलियाको बिगबिगी रहेको आम नागरिकको गुनासो छ ।

ती कार्यालयमा पनि बेला बेलामा छड्के अनुगमन आवश्यक रहेको नागरिक समाजका अगुवा तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।