• ६ जेठ २०८१, आइतबार

राहतका लागि प्रदेश सरकार लागिरहेको छ : मन्त्री पन्थी

blog

आगलागीबाट क्षति भएको रामपुर–४ समाङसिङको बस्ती निरीक्षण गर्नु हुँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २४ गते ।
 लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले आगलागी पीडितसमक्ष राहत पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । तत्कालका लागि अस्थायी आवास निर्माण गर्न आवश्यक सहयोग पीडितसम्म पठाउन लागि परेको बताउनुभयो  ।

सोमबार जिल्लाको रामपुर नगरपालिका ४ र ५ का आगलागी प्रभावित टोलमा पुग्नु भएका पन्थीले तीनै तहको सरकार साथमा रहेको भन्दै अग्निपीडित परिवारलाई नआत्तिन आग्रह गर्नुभयो । पीडितहरू सँग कुराकानी गर्नुहुँदै  मन्त्री पन्थीले भन्नुभयो, ‘‘सरकार साथमा यहाँहरूको साथमा छ । तपाईँहरू नआत्तिनु होला । विवरण छिटोभन्दा छिटो सङ्कलन गरी राहतलाई सहज रूपमा प्राप्त गर्ने वातावरण निर्माण गर्न म यहाँ आएको हुँ ।’’ स्थानीय सरकारहरू पीडितहरूको राहत व्यवस्थापनका लागि खटिरहेको अवस्थामा प्रदेश सरकार साथमा छ है भन्ने अनुभूति दिलाउन निरीक्षणमा खटिएको बताउनुभयो । राहतको प्रक्रियालाई छिटो पूरा गर्न सरकारी संयन्त्रलाई परिचालन गरिएको जानकारी दिनुभयो ।

तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था गर्ने र स्थायी सुरक्षित बसोबासका लागि केही समय लाग्ने भए पनि छिटो उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । प्रदेश सरकारले तत्कालको लागि ५० हजार राहत उपलब्ध गराउने जानकारी दिनुभयो । ‘‘सबैभन्दा छिटो पीडित पक्षले राहत प्राप्त गरोस् भन्नेमा सरकार चनाखो छ । सरकारी संयन्त्रहरूलाई त्यही हिसाबले परिचालन गरेका छौँ ।’’ उहाँले भन्नुभयो ।

मन्त्री पन्थीसँगै लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारुसहितको उपस्थिति रहेको थियो ।

रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले अग्निपीडित परिवारको राहत र व्यवस्थापनका लागि नगरपालिकाको तर्फ बाट भएका कार्यहरूको बारेमा जानकारी गराउनु भएको थियो । जङ्गलबाट आएको डढेलो बस्तीमा पसेपछि वैशाख १९ गते रामपुर नगरपालिका ४ र ५ को पाँच वटा घर, आठ वटा गोठमा क्षति भएको थियो । रामपुरसँगै जिल्लाको पूर्वखोला, माथागढी, रैनादेवी छहरा लगाएका स्थानमा आगलागीले क्षति गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पामा आगलागी बाट गत साउन देखि हाल सम्म ४५ वटा घर र ६८ वटा गोठमा क्षति भएको छ । वैशाख र चैत महिनामा मात्रै ३९ घर र ६० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जनकारी दिनुभयो ।