• ६ जेठ २०८१, आइतबार

तस्बिरमा लोमान्थाङमा तिजी पर्वको उल्लास

blog

लोमान्थाङको दरबार परिसरमा तिजी पर्वको रौनक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  
म्याग्दी, वैशाख २४ गते ।
 उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्व सुरु भएको छ । लोमान्थाङवासीहरुले तिजी पर्वको अवसरमा यहाँको मौलिक कला संस्कृति प्रदर्शन गरेका छन् । तिजी पर्वका कारण लोमान्थाङमा रौनक छाएको छ ।

पन्ध्रौँ शताब्दीदेखि सुरु भएको तिजी पर्वको मौलिकता र संस्कृतिलाई लोमान्थाङवासीहरुले अहिले पनि जीवित राखेका छन् । तिजी पर्वका अवसरमा यहाँ विभिन्न पौराणिक र मौलिक नृत्य देखाइएको छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी लोमान्थाङ दरबार परिसरमा आइतबार देखि सुरु भएको हो । तिजी पर्वलाई लोमान्थाङवासीहरुले भव्य रूपमा मनाउने गर्दछन् । तिजी पर्वका अवसरमा विभिन्न मौलिक संस्कृति झल्किने झाँकीहरू प्रदर्शन गरेका छन् ।


लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठुलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधि अनुसार पूजाआजा गरेर तिजी पर्व सुरु गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । तिब्बती कलासंस्कृति र मौलिकतासँग दुरुस्तै मेल खाने उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व ३ दिनसम्म धूमधामसँग मनाउने गरिन्छ । 

दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिने उहाँले बताउनुभयो । तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्रौँ शताब्दीदेखि सुरुवात भएको र अहिले सम्म जीवित रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।

चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरूले तिजी पर्वलाई धूमधाम सँग मनाउने गर्दछन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथिदेखि ३ दिन ‘तिजी’ पर्व मनाउने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छयुमी विष्ट गुरुङले बताउनुभयो । उहाँका अनुसार तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठुलो र प्रख्यात पर्व हो ।


तिजी पर्वलाई पछिल्ला वर्षहरूमा पर्यटन सँग जोडेर मनाउने गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘तिजी पर्व हाम्रो मौलिक सांस्कृतिक पहिचान हो । तिजी पर्वलाई जीवन्त राखेर यहाँको पर्यटन प्रवर्द्धन गरेका छौँ । तिजी पर्वको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू आएका छन् ।’’ तिजी पर्वको रौनक हेर्न तीनसय  विदेशी पर्यटक लोमान्थाङ आएको उहाँको भनाइ छ ।

लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीहरूको हितका लागि ३ दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने प्रचलन रहेको बताउनुभयो ।

तिजी पर्वका कारण लोमान्थाङका होटलहरु भरिभराउ भएका छन् । अनठौं भूगोल,प्राकृतिक सुन्दरता,ऐतिहासिक गुम्बाहरू,माटोको पर्खाल भित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन यहाँको पर्यटकीय आकर्षण हुन् ।