• ६ जेठ २०८१, आइतबार

बर्दिबासका मुसहर समुदायको सामूहिक बिमा

blog

बर्दीबास वडा नम्बर १२ मुसहर वस्तीमा जीवन बिमा दर्ता कार्यक्रमका सहभागी। तस्बिर : रबिन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, वैशाख २३ गते। बर्दिबास नगरपालिकाले नगर क्षेत्रका थप २ वडामा बसोबास गर्ने १७५ घरधुरीका २४५ जना मुसहर समुदायको जीवन बिमा गरेको छ। 

नगरपालिकाले वडा नम्बर १० खयरमाराका २५ परिवारका ४३ जना र वडा नम्बर १२ विजलपुराका १५० परिवारका २०२ जनाको टोल बस्तीमै पुगेर बिमा दर्ता गरेको हो। 

नगर क्षेत्रका तीनवटा वडामा गरेर २२७ परिवारको बसोबास रहेको यस समुदायका अब सबैजना बिमा सुविधामा समेटिएको नगरपालिकाले जनाएको छ। कागजात नमिलेका र घर बाहिर रहेका कारण छुटपुटमा परेका दुई चार जनाको पनि प्रक्रिया मिलाएर बिमा सुविधामा समेट्ने काम भइरहेको जनाइएको छ।   

सीमान्तकृत जातीमा पर्ने मुसहर समुदायको सुरक्षित भविष्य र सर्वाङ्गीण हितका लागि नगरपालिकाले अभियानको रूपमा जीवन बिमा गर्न थालेको थियो। यसको सुरुवात चैत महिनामा वडा नम्बर १४ स्थित नमुना मुसहर बस्तीबाट गरिएको थियो। यो बस्तीका १०८ जनाको सामूहिक जीवन बिमा भइसकेको छ। 

अभियानलाई निरन्तरता दिँदै वडा नम्बर १० र १२ मा बासोबास गर्ने १८ देखि ६९ वर्ष समूहकाप्रति व्यक्ति एक लाखका दरले २४५ जनाको ‘सामूहिक म्यादी जीवन बिमा’ गरिएको जनाइएको छ। बिमाको सम्पूर्ण रकम नगरपालिकाले ब्यहोरेको छ। 

दुवै वडामा आयोजना गरिएको बिमा दर्ता कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीले वञ्चित वर्गमा पर्ने मुसहर समुदायको सुनिश्चित भविष्यको उद्देश्यले तीन वर्षे जीवन बिमा गरेको बताउनुभयो। 

उहाँले चैत महिनामै आफूले ३ वटै वडाका सबै मुसहर समुदायको जीवन बिमा गरिदिने र २० वर्ष उमेर पुगेपछि बिहे गर्ने मुसहर दम्पत्तीलाई ५१ हजार नगद प्रोत्साहनको वचन दिएको स्मरण गराउनुभयो।