• ५ जेठ २०८१, शनिबार

आगलागी पीडितलाई राहत वितरण

blog

आगलागी पीडितहरुलाई मटिहानी नगरपालिकाका नगरप्रमुखसहितकाहरु खाट वितरण गर्नुहुँदै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, वैशाख २३ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा आगलागीबाट पीडित परिवारहरुलाई राहतस्वरुप खाट (पलङ) वितरण गरिएको छ । आगलागी क्षेत्रका पीडितहरूलाई आइतवारे जमिअत उलमाए नेपाल महोत्तरी शाखाले सुत्नको लागि खाट (पलङ) वितरण गरेको हो । 

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल, जमिअत उलमाए नेपाल महोत्तरी शाखाका अध्यक्ष शेख महीयुद्दिन र केन्द्रीय सदस्य मसीहुल्ला अन्सारीले संयुक्त रूपमा उक्त खाट (पलङ) वितरण गरेका हुन् ।

बढ्दो गर्मीमा सर्प, किराको डरले भुइँमा पटिया ओछ्याएर सुत्न समस्या भइरहेको कारण अधिकांश पीडितहरु रातभरि जाग्राम बस्ने गरेको भएर आगलागी पीडितहरुलाई खाट वितरण गरेको हो । जमिअत उलमाए नेपाल महोत्तरी शाखाका सचिव मोहम्मद अनिषले मटिहानीका १०३ आगलागी पीडित परिवारलाई एक÷एक थान खाट उपलब्ध गराइएको जानकारी दिनुहुँदै विपद्को समयमा सबै एक भएर राहत सहयोग गर्नुपर्ने बताउनुभयो ।

खाट वितरण कार्यक्रममा नगरप्रमुख हरिप्रसाद मण्डलले आगलागी पीडितहरुलाई अति आवश्यकताको रुपमा रहेको खाट वितरण गरेर जमिअत उलमाए नेपाल महोत्तरीले धेरै ठुलो गुण लगाएको बताउनुहुँदै विपद्को समयमा सानो सानो राहत सहयोगको पनि महत्व हुने बताउनुभयो । उहाँले दुःखको यस घडीमा नगरपालिकाको आह्वानमा आगलागी पीडितहरुलाई भइरहेको सहयोगको लागि सबैलाई धन्यवाद दिनुभयो । 

संस्थाका जिल्ला अध्यक्ष शेख महियुद्दीनले आफूहरू गरिब, असहाय र पीडितहरुलाई सहयोग गर्दै आइरहेको बताउनुहुँदै सोही सहयोग अन्तर्गत आगलागी पीडितहरुलाई खाट वितरण गरिएको बताउनुभयो । खाट पाएर आगलागी परिवारहरुलाई सुत्न र आराम गर्न मद्दत पुग्ने उहाँको विश्वास छ । खाट पाएपछि आगलागी पीडितहरु खुशी देखिएका थिए ।