फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख २२ गते। कास्कीका नेता एवम् पूर्वमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको शनिबार पोखरामा सम्झना गरिएको छ। तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको वि.सं. २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।
अधिकारीको ५५ औँ जन्म जयन्तीको अवसरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद आयोजना गरिएको छ। रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बिहान गरेको रक्तदानमा ४० युनिट रगत सङ्कलन भएको छ।
शनिबार दिउँसो भएको ‘स्मृतिमा रवीन्द्र अधिकारी’ विषयक परिसंवादका वक्ताले कुशल योजनाकार र सच्चा जनप्रतिनिधिका रूपमा उहाँको स्मरण गरे। गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राष्ट्रिय राजनीतिसहित नेपालको समृद्धिमा उहाँको पृथक् योगदान रहेको उल्लेख गर्नुभयो।
अधिकारीले चाहेको समृद्ध नेपालको यात्रामा लाग्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने प्रतिष्ठानका सदस्य कालिदास तिमिल्सिना र राजेन्द्रमणि लामिछानेले बताउनुभयो।
प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. शान्ता खत्री लगायतले अधिकारीको योगदानबारे बोल्नुभएको थियो।