लक्ष्मण पौडेल
भैरहवा, वैशाख २१ गते। भैरहवामा एकल महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले पैसाको प्रलोभनमा मुद्दा प्रभावित पार्न खोजेको पीडितले गुनासो गरेका छन्।
आफूविरुद्धको मुद्दा प्रभावित पार्न अभियुक्त सिद्धार्थ गुरुङ प्रहरी र सरकारी वकिलको सेटिङमा लागेको पीडितको गुनासो छ।
अभियुक्त बुटवल–११ निवासी ३६ वर्षीय गुरुङले पीडित महिलालाई साढे तीन वर्षदेखि विश्वासमा लिई सबै सम्पत्तिसमेत आफ्नो नाममा गराएको र करिब पाँच करोड रकम लगेको पीडितको गुनासो छ। पटकपटक आफ्नो कोठामा आएर जबर्जस्ती गर्ने र त्यसको भिडियो खिचेर बारम्बार ब्लाकमेलिङ गरी आफ्नो बदनाम गर्न खोजेपछि पीडित महिला न्यायको लागि प्रहरीकहाँ पुग्नुभएको हो।
पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभियुक्त गुरुङलाई वैशाख ६ गते पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। प्रहरीले अभियुक्त गुरुङलाई स्वास्थ्य उपचारका लागि भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा भर्ना गरेको छ। प्रहरीले अनुसन्धानका लागि भन्दै तीन पटक गरेर १९ दिन म्याद थप गरिसकेको छ।
जबरजस्ती करणीको अभियोग लागेकालाई सरकारी वकिलले अभियुक्तका नातेदारलाई भेट्ने प्रचलन नभएको तर यो घटनामा अभियुक्तले सरकारी वकिलसँग भेट गरेको पीडित महिलाको गुनासो छ।
एकल महिलालाई जवर्जस्ती करणी गर्ने गुरुङ पहिले नै विवाहित हुन्। पीडित महिलाले सिद्धार्थले आफ्ना केही निजी फोटो र भिडियो गोप्य रुपमा खिचेको आरोप छ। पीडित महिलाका अनुसार सोही भिडियो र तस्बिर देखाउँदै उनले वर्षौंदेखि आफ्नो स्वार्थ पूरा गरेका थिए।
सबैथोक मानेपछि पनि आफ्नो तस्बिर र भिडियो डिलिट नगरेकाले आफूले प्रहरीकोमा उजुरी दिएको पीडित महिलाको भनाइ छ। सिद्धार्थले खोलेको वैभव लक्ष्मी इन्टरनेशनल कम्पनी पनि महिलाको सम्पत्ति बेचबिखनपछि सञ्चालनमा ल्याएका गुरुङले निर्माण सेवा चलाउँदै आएका छन्। बुटवलमा इटल्ली मःमः पसल र गाउँले चुह्लो समेत महिलाकै सम्पत्तिमा जोडेको बताइएको छ।
सिद्धार्थको पहिलेकी श्रीमतीबाट एउटी छोरी छन्। विवाहित पुरुषले एकल महिलालाई पहिले दिदीको साइनो लगाएका थिए भने त्यसपछि साथीको रुपमा व्यवहार गर्ने गरेका थिए। श्रीमतीको हैसियत दिएपछि सम्पत्ति आफ्नो नाममा बनाएर सम्पर्कबाट टाढिन थालेको महिलाको भनाइ छ।
यता, रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले कसैले चाहँदैमा मुद्दा प्रभावित नहुने बताउनुभयो।
सरकारी वकिल कार्यालयका प्रमुख यज्ञ ज्ञवालीले भने पीडिकलाई भेटेको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो। “यहाँ हजारौं मुद्दा आउँछन्, कुनै मुद्दाका पीडकसँग पनि भेटेर बयान लिनुपर्ने हुन्छ, भेट्दै नहुने भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “जहाँसम्म एकल महिलालाई जबर्जस्ती करणीको मुद्दामा पीडकलाई भेटेको जुन आरोप छ, त्यो बारेमा थाहा भएन।”