• १३ साउन २०८१, आइतबार

आयुर्वेद चिकित्सातर्फ आकर्षण बढ्दो

blog

कावासोती आयुर्वेद स्वास्थ्य केन्द्रमा आएका सेवाग्राही । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, वैशाख २१ गते । पछिल्लो समय आयुर्वेद तर्फ नागरिकको विश्वास बढ्दै गएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधीले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति नागरिकको आकर्षण बढ्दै गएको हो । 

कावासोती २ का लिलाधर पोख्रेललाई मधुमेह भएको २० वर्ष भयो । उहाँपनि एलोपेथिक औषधीसँगै आयुर्वेद औषधीको प्रयोग गर्ने गरेको बताउनुहुन्छ । एलोपेथिकमा जस्तो धेरैतिर धाउनुपर्ने, लाइन बस्नुपर्ने, रोग अनुसारका चिकित्सक भेट्न समय लिनुपर्ने झन्झटले गर्दा पनि अहिले आयुर्वेदिक उपचारप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको उहाँको भनाइ छ । कावासोती–७ का रवीन्द्र शर्माले ग्यास्ट्रिकको समस्याले आजित भएकाले पटक–पटक अस्पताल धाएर एलोप्याथिक औषधी प्रयोग गर्दा पनि निको नभएपछि आयुर्वेद स्वास्थ्य केन्द्र उपचारको लागि आएको बताउनुहुन्छ । त्यहाँको उपचारले निको भएकाले सबैलाई आयुर्वेद स्वास्थ्य केन्द्र जाने सुझाव दिनुहुन्छ । 

७८ वर्षीय नियमकान्त घिमिरे बाथको रोगी हुनुहुन्छ । लामो समयदेखि बाथबाट ग्रसित उहाँ उपचारको लागि धेरै ठाउँमा पुग्नु भयो तर निको नभएपछि आयुर्वेदिक औषधालयमा आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छिटो निको होला भनेर एलोपेथिक औषधीको प्रयोग धेरै गरे तर सन्चो भएन । अहिले आयुर्वेदिक औषधालयमा आएर मिश्रणयुक्त जडीबुटीको औषधी खाने र सेकाउने गरेको छु, पहिला भन्दा अहिले ठिक भएको छ ।” रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडीबुटीजन्य औषधी आयुर्वेदिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने र प्रभावकारी पनि देखिएकाले आयुर्वेदिक सेवाबाट सबैले लाभ लिनुपर्ने बताउनुहुन्छ ।

अहिले औषधालयमा सेवाग्राहीको चाप बढेको छ । कावासोती आठमा रहेको कावासोती आयुर्वेद औषधालयमा आर्थिक वर्ष २०८०।८१ को चैत महिनासम्ममा ओपिडीमा पाँच हजार एक सय ८२ जनाले सेवा लिएको कावासोती आयुर्वेद औषधालयका प्रमुख गोविन्द पौडेले बताउनुभयो । जसमा पुरुष तीन हजार ११६ र महिला दुई हजार ६६ ले सेवा लिएका छन् । 

पञ्चकर्म (पूर्वकर्म तर्फ, स्तनपायी तथा पोषण सेवा ,ज्येष्ठ नागरिक सेवा) विशेषज्ञ सहितको ओपिडी सेवा, ल्याब सेवा, फिजियोथेरापी, आयुर्वेदिक थेरापी, र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँको भनाइ छ । कावासोती आयुर्वेद औषधालयमा ७९-८० मा नौ हजार पाँच सय ५१  सेवाग्राहीले सेवा लिएका छन् ।

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका डा सुजता शर्माले दीर्घकालीन रोग र साइड इफेक्ट रहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने सेवाग्राहीको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । औषधालयमा पेटसम्बन्धी अम्लपित्त , ग्यास्ट्रिक, श्वासप्रश्वास सम्बन्धी रोग , बाथ , मिर्गौला सम्बन्धी रोग , नाककान घाँटी लगायतका रोग सम्बन्धी सेवा प्रदान गर्ने गरिएको छ । 

ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत रसायन वर्धक औषधी वितरण गर्ने र पोषण सेवा अन्तरगत (स्तनपायी) सुत्केरी भइसकेपछि बच्चाका लागि पर्याप्त मात्रामा दूध उत्पादन नहुने महिलाहरूका लागि स्वास्थ्य प्रवर्द्धन गर्न स्तन्यवर्धक औषधी वितरण, हाडजोर्नी र बाथ रोगका बिरामीका लागि पूर्वकर्म थेरापी लगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपुरका वैद्य निरीक्षक डिल्ली राम कँडेलले जानकारी दिनुभयो ।

जिल्लामा सञ्चालित आयुर्वेद औषधालयमा त्रिफला चूर्ण, अविपत्तिकर चूर्ण, सेतोपलादी चूर्ण, हिङवास्टक चूर्ण, बिल्वादी चूर्ण, निम्बवादी चूर्ण, पुष्यानुग चूर्ण, योगराज गुगल, कैशोर गुगल, महाशङ्ख बुटी, षड्बिन्दु तेल, अर्श कुठार रस-अर्शोघ्नी वटी, खदिरादी बुटी, सर्पगन्धाघन बुटी, महानारायण तेल, महासुदर्शन चूर्ण, गन्धक रसायन, जात्यादी तेल, टङ्कण  भीष्म, पञ्चसकार चूर्ण, चन्द्र प्रभा बुटी, बालामृत, मृगमदासव, शतावरी चूर्ण, अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, दशमूल तेल नाम गरेका २७ प्रकारका औषधि निःशुल्क पाइने जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका डा शर्माले बताउनुभयो ।