• ४ जेठ २०८१, शुक्रबार

'गर्मीमा बालबालिकाको विशेष हेरचाह आवश्यक'

blog

किओच बाल अस्पताल दमकमा बिरामी ।

बिष्णुप्रसाद पोखरेल

दमक, वैशाख २० गते । झापा सहित पूर्वी तराईमा गर्मी अधिक बढेपछि बालबालिकामा विभिन्न प्रकारका रोगको देखिएको छ । गर्मीसँगै ग्यास्ट्रोइंटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउने जस्ता सङ्क्रामक रोगको समस्या बढेको छ ।

विशिष्ठिकृत किओच दमक बाल अस्पतालका बरिष्ठ बाल रोग विशेषज्ञ जयमणि श्रेष्ठका अनुसार विभिन्न प्रकारका एलर्जी, फङ्गल इन्फेक्सन, सन बर्न, कीट सम्बन्धी एलर्जी, टाउको दुखाइ, थकान, आँखामा सङ्क्रमणलगायतका समस्या गर्मीयाममा धेरै देखिनेगर्छ । केही बच्चाले दमका लक्षणहरूमा वृद्धि अनुभव गर्न सक्ने भएकाले होसियारी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ ।

तापक्रम वृद्धिले गर्दा बालबालिकाहरुको शरिरमा पानी कम हुने कारण स्ट्रोक वा बेहोस हुन सक्ने पनि उहाँले बताउनुभयो । विभिन्न ब्याक्टेरिया र भाइरसहरू गर्मीमा बढी बाँच्ने हुँदा जसले खाना र पानीबाट हुने रोगहरू निम्त्याउने पनि श्रेष्ठले जनाउनुभयो । बालबालिकामा व्यवहारमा परिवर्तन तथा मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने उहाँको भनाइ छ ।

अधिक गर्मीको यो समयमा बालबालिकाहरुको उचित हेरचाह गर्न उहाँले सुझाव दिनुभएको छ । दिनभरि प्रशस्त पानी पिउने अवस्था सिर्जना गर्न, बाहिर बजारमा पाइने कृत्रिम जुस वा चिनीयुक्त पेय पदार्थ तथा सोडा नदिन उहाँको सुझाव छ । "नरिवल पानी प्रशस्त ख्वाउँदा राम्रो हुन्छ", उहाँले भन्नुभयो ।

बाल अस्पतालमा बिरामीहरुको चाप बढेको जनाउँदै बाहिर जथाभावी विषादी हालेर पकाइएका विभिन्न प्रकारका फलफूलको प्रयोगले पनि समस्या आएको भेटिएको श्रेष्ठले बताउनुभयो । "खरबुजा लगायतका फलफुल खाँदा होशियारी अपनाउनुपर्छ", उहाँले भन्नुभयो । सेकसम्म बालबालिकाहरुलाई अहिलेको घाममा नहिंडाउन र न्यानो कोठामा रहने अवस्था सिर्जना गर्न उहाँले आग्रह गर्नुभएको छ ।