• १२ मंसिर २०८१, बुधबार

एमाले ताप्लेजुङको अधिवेशनको तयारी तीव्र

blog

सदरमुकाम फुङ्लिङस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङको अधिवेशनको तयारी तीव्र छ । जिल्ला अधिवेशनको मिति नजिकिएसँगै एमाले जिल्ला कमिटीले तयारी तीव्र पारेको हो ।

एमाले ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशन यही वैशाख २४ र २५ गते सदरमुकाम फुङ्लिङमा हुने भएको छ । सो पार्टीले पत्रकार सम्मेलन गर्दै हाल अधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएको छ । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौँ जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने नाराका साथ जिल्ला अधिवेशनको तयारीमा जुटेको प्रचारप्रसार उपसमिति संयोजक मणिशङ्कर पोमुले जानकारी दिनुभयो ।

पोमुका अनुसार अधिवेशनलाई भव्यरुपमा सम्पन्न पार्न जिल्ला कमिटी अध्यक्ष भूपेन्द्र थेबेको संयोजकत्वमा १०७ सदस्सीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा उपसचिव दीपेन्द्र पोमु रहनुभएको छ । यसैगरी स्वयंसेवक परिचालन समिति संयोजकमा आशिष् केदेम, अतिथि सत्कार समिति संयोजकमा टीकादेवी दाहाल र मञ्च व्यवस्थापन समिति संयोजकको जिम्मेवारी दिनेश अधिकारीलाई दिइएको छ । 

जिल्ला अधिवेशनमा आयोजक कमिटीबाट १०७ जना, जिल्लामा रहेका ६१ वडा कमिटीबाट २३६ र जनसङ्गठनहरूबाट १८ गरी कुल ३६१ जना प्रतिनिधि सहभागी हुनसक्ने अनुमान गरिएको एमाले ताप्लेजुङले जनाएको छ । हालसम्म वडा र जनसङ्गठनतर्फ अधिवेशन प्रतिनिधिको टुङ्गो लागिनसकेको र यही शुक्रबार सम्ममा प्रतिनिधि छनोटको काम सम्पन्न गर्ने तयारी रहेकोसमेत सो पार्टीले जनाएको छ । 

यता एमाले जिल्ला अधिवेशनको लोगो पनि सार्वजनिक गरिएको छ । अधिवेशनको उद्घाटन गर्न पार्टीका महासचिव शङ्कर पोखरेलको उपस्थिति रहने एमाले जिल्ला कमिटीले जानकारी दिएको छ । त्यस्तै केन्द्रीय सचिव योगेशकुमार भट्टराई, पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो लगायतका केन्द्रीय नेताहरू अधिवेशनमा सहभागिता रहने बताइएको छ। 

आगामी नेतृत्वका लागि भने पूर्व जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङ, संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फे, वर्तमान जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा र पूर्व जिल्ला उपसचिव गोपाल थोप्रा आकाङ्क्षी रहनुभएको चर्चा छ । त्यसैगरी उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीमा पनि धेरै जनाले आकाङ्क्षा राख्दै आउनुभएको पाइएको छ ।