कमल खत्री
नेपालगन्ज, वैशाख १९ गते । खाडी मुलुकमा दुःख गरेर युवाहरूले कमाएको अर्बौँ रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । यसरी ठगिने सायौ युवाहरू बाँकेमा रहेको पीडितहरूले बताएका छन् ।
ठगिने मध्येका एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि घर फर्किएका हरिबहादुर बुढाक्षेत्री । खजुरा गाउँपालिका –२ गौघाट निवासी बुढाक्षेत्री डेढ दशक अघि रोजगारको सिलसिलामा मलेसिया जानु भएको थियो । त्यहाँ उहाँको कमाइ राम्रै थियो । मासिक राम्रो तलब आउने भएपछि नेपालबाट गएका हरिजस्तै थुप्रै युवाहरू त्यहाँको रोजगारीमा आकर्षित भए ।
मलेसियन कम्पनीले उत्पादन गरेका सामानहरू राम्रा थिए । कम्पनीबाट सिधै उपभोक्ताको हातमा सामान जाने भएकोले किन्ने मानिसले धेरै छुट पाउने गर्छ । नेटवर्किङ बिजनेसमार्फत नेपाली युवाबिच परिचय हुँदै गएपछि नेपालमा लगानी गर्ने भन्दै एउटा कम्पनीको स्थापना हुन्छ, त्यो हो एभरेष्ट ग्रुप ।
मासिक रूपमा नेपालमा उक्त ग्रुपमा पैसा पठाउने र उक्त ग्रुपले नेपालको जलविद्युत, रिर्सोट, जग्गा, होटल, जिम क्लब लगायतका विभिन्न ठाउँमा लगाउने गर्ने विश्वास दिलाएको थियो ।
त्यही विश्वासमा विदेशमा भएका युवाहरूले कसैले बैङ्क, कसैले हुन्डी त कसैले आफ्नो परिवारमार्फत सो समूहले खोलेका देशभरका विभिन्न अफिसमा मासिक रूपमा रकम जम्मा गर्ने गरेका थिए । तर त्यसरी जम्मा गरेको रकम कहाँ गयो अहिले उनीहरूलाई नै पत्तो छैन ।
खजुराका हरिले मासिक रूपमा सन् २०१५ देखि सन् २०२० सम्म ५ लाख ६५ हजार रुपियाँ नेपालगन्ज–१८ तिलबहादुर राना मगरको नाममा पैसा पठाउनु भएको छ । यसका साथै उहाँको परिवारका सदस्यले पनि नेपालगन्ज कारकादोको कार्यालयमा गएर केही रकम बुझाएको बताएका छन् ।
चार वर्षअघि मलेसियाबाट नेपाल आएपछि हरिले आफ्नो लगानीको बारेमा खोजी गरे तर पत्ता लगाउन सक्नुभएन । लगानी गरेको रकम सुरक्षित नभएको भन्दै फिर्ता गर्न ताकेता गरेपछि मात्र उहाँलाई ठगिएको थाहा भयो ।
पुरानो घर खजुरा –४ डिगाउँ भएका कारण आफ्नै गाउँघरको दाइ भन्ने विश्वासमा हरिले सो ग्रुपमा रकम पठाउने गरेको बताउनुभयो । अहिले आफूले गरेको लगानी कहाँ छ भनेर सोध्दा तिलबहादुरले स्पष्ट उत्तर नदिनेगरेको उहाँले बताउनुभयो ।
‘हामीले दुःख गरेर कमाएको रकम उनीहरूले गलत तरिकाले व्यक्तिगत रूपमा खर्च गरेका रहेछन् । आफ्नो घरजग्गा, गाडीमा खर्च गरेको देखियो । नेपाल आएपछि थाहा भयो’ उहाँले भन्नुभयो, “मैले तिलबहादुरको नाममा रकम पठाएको प्रमाण राखेको थिएँ । तर धेरै साथीहरूको त प्रमाण नै राखेनन् ।”
चार महिना अघिसम्म फोन सम्पर्कमा रहेका तिलबहादुर अहिले फोन सम्पर्कमा नरहेको हरिले बताउनुभयो । कानुनी रूपमा अघि बढ्ने तयारी भएको उहाँले बताउनुभयो ।
बाँके, बर्दियालगायतका देशभरका संयौं युवाहरूको रकम सो समूहले गलत तरिकाले उठाएको आरोप लागेको छ । उनीहरूको मुख्य कार्यालय सुरुमा काठमाडौँ भनिएको थियो । अहिले त्यहाँ कार्यालय पनि नभएको हरिले बताउनुभयो ।
खाडी मुलुक मलेसिया, साउदी अरब, कतारजस्ता देशमा काम गरिरहेका हजारौँ युवाको अर्बौँ रकम सो समूहले अपचलन गरेको हरिको आरोप छ । खजुरा गाउँपालिका भित्रमात्र दश बढी युवाहरू त्यसरी ठगिएको उहाँको भनाइ छ ।
खजुरा गाउँपालिका –२ कै राजकुमार सुनार, आशिष् मगर, सुर्खेत मटेलाका मानबहादुर विसीलगायतकाले मासिक रूपमा तिलबहादुरले पैसा उठाउने गरेको उहाँले बताउनुभयो ।
हरिले चिनेका तिलबहादुर केही समयअघि नेपालगन्जको १८ नम्बर वडामा बसेर डिएक्सएनको व्यवसाय गरेर बसेका थिए । तर हाल नेपालगन्जको घरमा जाँदा उहाँसँग सम्पर्क नहुने गरेको पीडित युवाहरूले बताउनुभयो ।
यसरी विदेशमा रहेका युवालाई ठग्ने मुख्य योजनाकारको रूपमा तिल बहादुरसँगै झापाका कृष्ण घिमिरे, काठमाडौँका पुकार छन्त्यालसहित व्यक्तिहरू रहेको हरिले बताउनुभयो ।
ठगीको आरोप लागेका तिलबहादुर राना मगरले पनि झापाका कृष्णा घिमिरे, पुकार छन्त्याल लगायतको व्यक्तिको योजनामा आफूले बाँके क्षेत्रमा रकम सङ्कलनको काम गरेको बताएका छन् । उनले भने, “म पनि पीडित छु । मभन्दा माथिल्लो निकायमा बसेर काम गरेका साथीहरूले धोका दिए । उनीहरूले गरेको गलत कामका कारण म पनि समस्यामा परेको छु । यस्तो विजनेसको मुख्य योजनाकार कृष्ण र पुकार हुन् । उनीहरू अहिले विदेशमा छन् ।” ब
आफू ठगिएको प्रमाणसहित हरि जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले कानुनी रूपमा घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले सुरुमा ठगी मुद्दामा घटनाको अनुसन्धान गरिने बताउनुभयो ।