• ४ जेठ २०८१, शुक्रबार

क्रसबोर्डर अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीको सङ्ख्या बढाउनु आवश्यक

blog

सशस्त्र प्रहरीको जलसागरस्थित नेपाल ९ नं गण हेड क्वार्टरमा सत्रौ स्थापना दिवसका सहभागी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दीबास, वैशाख १८ गते । सीमा सुरक्षाको मोर्चामा महत्त्वपूर्ण दायित्व निर्वाह गर्दै आएको सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ५ करोड बढीका अवैध सामानहरू बरामद गरेको छ । सीमा इलाकाबाट दर्जन बढीलाई उद्धार गर्नुका साथै दैवी विपद्का ११६ वटा प्रभाव क्षेत्रमा उद्धार तथा व्यवस्थापन र अनेकन् सामाजिक दायित्व निर्वाह गरेको सशस्त्रले जनाएको छ । 

महोत्तरीमा १७ औँ स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरीले जलसागरस्थित नेपाल ९ नं गण हेड क्वार्टरमा मंगलबार आयोजना गरेको कार्यक्रममा सशस्त्र उपरीक्षक एवं गणपति विनोद केसीले चालु आवको वैशाख १६ गतेसम्म विभिन्न सीमा नाकाबाट ५ करोड ३० लाख २७ हजार मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको बताउनुभयो । 

यस अवधिमा विभिन्न प्रलोभन तथा झुटो आश्वासनमा पारी भारततर्फ लैजान लागिएका १६ जनालाई दक्षिणी सीमा इलाकाबाट उद्धार गरी सशस्त्र प्रहरीले परिवारको जिम्मा लगाएको उहाँले स्मरण गराउनुभयो । चालु आर्थिक वर्षको ९ महिनामा विपद्का विभिन्न ११६ वटा घट्नमा परिचालित भई प्रभाव क्षेत्रमा उद्धार तथा व्यवस्थापन गर्नुका साथै रक्तदान, सरसफाइ, प्रतीक्षालय निर्माण लगायत चेतनामूलक कार्यक्रमहरूमार्फत सशस्त्र प्रहरीले सामाजिक दायित्व निर्वाह गर्दै आएको विवरण प्रस्तुत गर्नुभयो । 

स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सशस्त्र प्रहरीले शान्ति सुरक्षाको पाटोमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै तस्करी एवं क्रस बोर्डर अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीको सङ्ख्या बढाउनु पर्ने आवश्यकता औँल्याउनुभयो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डिआइजी दीपेन्द्र शाहले आफ्ना कार्यक्षेत्रमा पूर्ण व्यावसायिक रूपमा परिचालित भई नागरिकको सुरक्षा, मानव अधिकारको सम्मान र कर्तव्य परायण भई दायित्व निर्वाह गर्न मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले मधेश प्रदेशमा परिचालित सशस्त्र प्रहरीका सम्पूर्ण इकाईहरूको कडा परिश्रम, उच्च मनोबल र दायित्व बोधले नं २ छिन्नमस्तालाई प्रधान कार्यालयले उच्च मूल्याङ्कन गर्दै यस वर्षको उत्कृष्ट वाहिनीको रूपमा पुरस्कृत गरेको उल्लेख गर्नुभयो । 

डिआइजी शाहले भन्नुभयो, ‘यो उपलब्धि, यो सम्मान र यो गरिमा हामी सबैको साझा प्रयास र परिश्रमको प्रतिफल हो ।’ जलेशवर नगरपालिकाको खानेपानी कार्यालयमा २०६४ साल वैशाख महिनामा सीमा सुरक्षा कार्यालय महोत्तरीको नामले स्थापना भएको सशस्त्र प्रहरीको २०६८ सालमा मटिहानी नपा ९ जलसागरस्थित आफ्नै भवनमा स्थानान्तरित भएदेखि स्थापना दिवस मनाउँदै आएको छ । 

२०७५ सालको पुर्नसंरचनासंगै यही कार्यालय ‘सीमा सुरक्षा बल’ बाट रूपान्तरण भई सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर बनेपछि यसको दायित्वमा क्रमिक विस्तार हुँदै आएको छ । यसअघि सीमा सुरक्षाका मात्र जिम्मेवारी निर्वाह गर्दै आएको सशस्त्रले गण बनेपछि जिल्लाको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन, रेल्वे, लोकमार्ग, कारागार एवं सीमा सुरक्षा लगाएको दायित्व निर्वाह गर्दै आएको छ ।