• १३ मंसिर २०८१, बिहिबार

चैते धान खेतीको क्षेत्र विस्तार

blog

प्युठान नगरपालिका–२ बेलुका फाँटमा चैते धान लगाउँदै किसान । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, वैशाख १८ गते ।
माण्डवी गाउँपालिका–५ स्थित पारथुंगा फाँटमा यस वर्ष किसानले पहिलो पटक चैते धान लगाएका छन् । एक बाली मात्र धानखेती गर्दै आएका किसानले यसवर्ष चैते धान लगाएका हुन् । करीव पाँच सय रोपनी क्षेत्रफल रहेको फाँटमा किसानहरुले चैते धानको रोपाई गरिसकेका छन् ।

“हामीलाई चैते धान खेतीबारे थाहा थिएन,” स्थानीय किसान शिवा योगीले भन्नुभयो, “अहिले आठ रोपनी खेतमा धान लगाएको छुँं ।” वर्खे धानभन्दा बढी फल्ने र दुई बाली धान लगाउन सकिने भएकाले चैते धान लगाएको उहाँले बताउनुभयो ।

प्युठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकामा चैते धान खेती विस्तार हुँदै आएको छ । धानको उत्पादन र उत्पादकत्व बढाउन काम गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन प्युठानले चैते धान खेतीको प्रवर्द्धन आएको छ । जसले गर्दा यसअघि चैते धान लगाएका किसानहरुले समेत निरन्तर रुपमा चैते धान खेती गर्दै आएका छन् ।

“तीन वर्षदेखि निरन्तर चैते धान लगाउँदै आएको छु,” प्युठान नगरपालिका–२ दाखाक्वाडीका मुक्ति पोख्रेलले भन्नुभयो, “अहिलेसम्म राम्रो उत्पादन भइराखेको छ ।” चैते धान खेतीका लागि परियोजनाले सिँचाइ कुलो निर्माण, कृषि यन्त्रमा समेत सहयोग गरेकाले किसानलाई खेती गर्न सजिलो भएको उहाँको भनाइ छ ।

जिल्लामा छ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ । धान उत्पादन बढाउन दुई हजार ७९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती पनि गर्ने गरिएको छ । धान जोनले विगत चार वर्षदेखि चैते धानको क्षेत्र विस्तारमा कार्यक्रम गर्दै आएको छ । वर्खे धानभन्दा बढी फल्ने भएकाले पनि यसको क्षेत्र विस्तारमा परियोजनाले जोड दिएको छ । यो वर्ष करीव एक हजार रोपनी क्षेत्रफल विस्तार भएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो ।

चैते धानका लागि चैते ५, हर्दिनाथ १ र  हर्दिनाथ ३  जातको वीउ प्रयोग गरिएको छ  । चैते धान खेती प्रवर्द्धनका लागि सिँचाइ कुलो, मेसिन औजार, वीउ, औषधी उपलब्ध गराउने गरिएको छ । यद्यपि सिँचाइको समस्याले गर्दा कतिपय फाँटमा चैते धान खेती विस्तार गर्न समस्या भइरहेको छ । ऐरावती गाउँपालिका–२ हरियाटारीका किसान जानका राउतले भन्नुभयो, “अझैपनि पर्याप्त सिँचाइको व्यवस्था नहुँदा खेती गर्न समस्या छ ।”