• २० असोज २०८१, आइतबार

सूचना विभागद्वारा पत्रकारलाई तालिम

blog

ताप्लेजुङका स्थानीय पत्रकारलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिँदै।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १७ गते। सूचना तथा प्रसारण विभागले ताप्लेजुङका पत्रकार तथा सञ्चारकर्मीलाई तालिम प्रदान गरेको छ। ताप्लेजुङमा रहेर पत्रकारिता गर्दै आएका स्थानीय पत्रकारलाई विभागले क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो।

विभागको दुर्गम क्षेत्रमा कार्यरत पत्रकार लक्षित क्षमता अभिवृद्धि तालिम कार्यक्रमअन्तर्गत यहाँका पत्रकारहरूको सहभागितामा तालिम सञ्चालन गरिएको छ। 

आइतबार र सोमबार दुई दिन सञ्चालित तालिममा एफएम रेडियो, अनलाइन, पत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

तालिममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डाक्टर विजय मिश्रले सहजीकरण गर्नुभएको छ। समाचार लेखन, सङ्कलन, अभिव्यक्ति शैली, अन्तर्वार्ताजस्ता पत्रकारिताभित्रका तत्त्वहरूका विषयमा डा. मिश्रले प्रशिक्षण दिनुभएको थियो। 

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको समन्वयमा सूचना तथा प्रसारण विभागका शाखा अधिकृत टेकबहादुर वलीको नेतृत्वमा घुम्ती शिविर सञ्चालन गरिएको हो। शिविरमा पत्रकार परिचयपत्र वितरण तथा नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणजस्ता सेवा प्रवाह गरिएको छ। नेपाल पत्रकार महासङ्घ शाखा अध्यक्ष आनन्द गौतमले घुम्ती शिविर सञ्चालन गरेर सेवा प्राप्त गर्ने अवसर प्राप्त भएकोमा सूचना तथा प्रसारण विभागप्रति आभार व्यक्त गर्नुभयो।