• ११ पुस २०८१, बिहिबार

‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ

blog

चिस्यान घर । फाइल तस्बिर

भेरीगङ्गा (सुर्खेत), वैशाख १७ गते । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

यसअघि तीन वटा चिस्यान केन्द्र रहेको सुर्खेतमा पछिल्लो समय थप दुईवटा चिस्यान केन्द्र सञ्चालनमा आएसँगै चिस्यान केन्द्रको सङ्ख्या पाँच पुगेको छ । सुर्खेतका तीन पालिका गुर्भाकोट, भेरीगङ्गा, लेकबेंसी र वीरेन्द्रनगरमा स्थापना गरिएका यी चिस्यान केन्द्र दुई हजार पाँच सय मेट्रिक टनसम्म तरकारी तथा फलफूल राख्न सक्ने क्षमताका रहेको प्रदेश सरकार कृषि विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले अदुवा, प्याज सुन्तला ड्रागन फ्रुट राख्न मिल्ने गरी चिस्यान केन्द्र निर्माण गरी सञ्चालन सुरु गरिएको जानकारी दिनुभयो । तर प्रत्येक चिस्यान केन्द्र पाँच सय मेट्रिक टनसम्म क्षमताका रहेको भन्दै विद्युतको लो भोल्टेजका कारण सञ्चालनमा भने कठिनाइ भइरहेको रोकायको भनाइ छ । “किसानले उत्पादन गरेको कृषि सामग्रीलाई लामो समय राख्न तथा खेर जान नदिन हामीले कोल्डस्टोर निर्माण गर्यौ,” निर्देशक रोकायले भन्नुभयो, “विद्युतको लो भोल्टेजका कारण सञ्चालनमा कठिनाइ छ ।” 

सहजरुपमा सञ्चालन गर्न सकियो भने किसानलाई बजारीकरणसँगै खेर जाने समस्या कम हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । यसैबिच, आलुको बीउ भण्डारणको लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहाताल गाउँपालिकामा पाँच सय मेट्रिक टन क्षमताका पाँच वटा रष्टिक स्टोर सञ्चालनमा ल्याइएको निर्देशनालयले जनाएको छ । गुर्भाकोट र लेकबेँसी नगरपालिकामा दुई सय मेट्रिक टन क्षमताका दुई वटा बीउ भण्डारण केन्द्र स्थापना गरिएको निर्देशनालयका कृषिप्रसार अधिकृत तिलकप्रसाद पाण्डेको भनाइ छ । उहाँका अनुसार भण्डारण केन्द्रमा धान, मकै, गहुँ र तरकारीको बीउ भण्डारण गर्ने गरिएको छ भने सुर्खेतमा पाँच वटा सङ्कलन केन्द्र छन् । रासस